प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा चुनाव जित्ने सम्भावना भएको उम्मेदवारलाई मात्र टिकट दिइने बताएका छन्।
असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचको सन्दर्भ पारेर नेपाली कांग्रेसले डाकेको २ नम्बर प्रदेशको भेलामा उनले यस्तो बताएका हुन्। 'यो चुनावमा जित्ने सम्भावना भएकाले मात्र टिकट पाउँछन्,' देउवाले भने।
उनले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एक ढिक्का भएर जान पार्टीका नेता तथा कार्यकर्तालाई अाग्रह गरे।
यसअघिका स्थानीय चरण निर्वाचन क्रममा कांग्रेसभित्र अन्तरघात भएको भन्दै उनले पार्टी भित्र अनुशासनको कमी देखिएको बताए।
बानेश्वरको आनन्द पार्टी प्यालेसमा भएको कार्यक्रममा बोल्दै उनले चुनावमा अन्तरघात गर्ने प्रवृत्तिले कांग्रेसलाई कहिल्यै माथि नउठाउने पनि बताए।
अब अन्तरघात गरे पार्टीले कारबाही गर्ने पनि उनले चेतावनी दिएका छन्।
भेलामा पार्टीका नेता एवं केन्द्रीय पदाधिकारी, प्रदेश नं. २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, माननीय सांसद, पूर्व सांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्ष तर्फका उम्मेदवारका प्रत्यासीहरु उपस्थित थिए।
पूर्वमहामन्त्री विमलेन्द्र निधिले कांग्रेस तराई मधेसकै पार्टी हो भन्दै दुई नम्बर प्रदेशको चुनावमा यो पहिलो पार्टी हुनुपर्ने बताए।
सानातिना कमजोरीका कारणले यसअघिका चुनावमा कांग्रेसका प्रभाव क्षेत्र पनि गुमेको बताउँदै निधिले अब त्यस्तो हुन नदिन आग्रह गरे।
कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष सितादेवी यादव लगायत नेताले बोलेका थिए। दुई नम्बर प्रदेशका ८ जिल्ला सभापतिले मधेसका समस्याबारे बोलेका थिए।
भेलाको पहिलो चरण सकिएको छ। अब प्रदेशका केन्द्रीय सदस्य तथा अन्य नेताहरुको बन्द छलफल हुनेछ। यो छलफल भोलिसम्म चल्नेछ।