प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न सरकारलाई पुनः दबाब दिएको छ।
एमाले उपाध्यक्ष भीम रावलले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेका हुन्। व्यवस्थापिका संसदको बिहिबारको बैठकमा बिशेष समय लिएर बोल्दै उहाँले निर्वाचन क्षेत्र निर्धारण आयोगको कामलाई छिटो अघि बढाउने गरी आवश्यक नीतिगत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
उपाध्यक्ष रावलले राष्ट्रिय सभा निर्वाचन कानून छिटो बनाउन पनि सरकारसँग माग गरे। उनले प्रदेश सभा र प्रतिनिधि सभा कानूनसम्बन्धि विधेयक संसदबाट छिटो पारित गराउन पनि सरकारलाई सचेत गराए।
सत्तासाझेदार नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले स्थानीय तह कार्यकारी आदेशको भरमा चलाउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले स्थानीय तहलाई कानूनको शून्यताको अवस्थामा पुर्याउने काम सरकारबाट भएकोमा आपत्ति जनाए।
सांसदहरुले सरकारलाई स्थानीय तह संचालनका लागि आवश्यक कानूनको व्यवस्था गर्न पटक–पटक सचेत गराउँदै आएका छन्।