सांसदहरुले सरकार जिम्मेवार नभएकाले काठमाडौं उपत्यकाको सडक अस्तव्यस्त बन्न पुगेको आरोप लगाएका छन।
सांसदहरुले काठमाडौं उपत्यकाको सडकको अवस्था बुझ्न सम्बन्धित मन्त्रालयका सचिवहरुलाई सामूहिक रुपमा स्थलगत अवलोकन भ्रमण गराउन पनि सरकारलाई आग्रह गरेका छन्।
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बोल्दै काँग्रेस सांसद राजन केसीले काठमाडौं उपत्यकाको सडकको अवस्था दयनीय बन्दासमेत सरकारले बेवास्ता गरिरहेको आरोप लगाए। उनले ठेक्का दिने तर कामको अनुगमन नगर्ने सरकारी निकायकै कारण काठमाडौंको सडकको अवस्था दयनीय बन्न गएको पनि बताए।
सांसद केसीले काठमाडौंको सडकको अवस्थाबारे अवलोकन गर्न सम्बन्धित मन्त्रालयका सचिवहरुलाई नै परिचालन गर्न मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीसँग आग्रह पनि गरे।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद विकास लम्सालले काठमाडौं उपत्यकाको सडक व्यवस्थित बनाउन सरकार जिम्मेवार नभएको उल्लेख गरे। उनले सरकारी निकायले कामै नगरेकाले काठमाडौंको सडकको दुरावस्था भएको पनि स्पष्ट पारे। सांसद लम्सालले काठमाडौं उपत्यकाको सडक व्यवस्थित बनाउन बजेटको अभाव नभएको पनि स्मरण गराए।
बैठकमा बोल्दै मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले कानुन, नीति र योजनामै देखिएको त्रुटिका कारण काठमाडौं उपत्यकाको सडक व्यवस्थापन सम्बन्धि समस्या समाधान हुन नसकेको दाबी गरे।
उनले विकास र समृद्धिको चाहना पूरा गर्न मुलुक हेरेर कानून, नीति र योजना बनाउनुपर्ने खाँचो औँल्याए। मुख्य सचिव क्षेत्रीले सांसदहरुमाझ काठमाडौं उपत्यकाको सडकको उचित व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने सरकारी निकायहरुबीच आवश्यक समन्वय हुन नसक्दा काठमाडौं उपत्यकाको सडकको उचित व्यवस्थापन गर्न नसकेको स्वीकार गरेको छ।