प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्न नसकेको बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजना भएको तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोजित ‘छलफल कार्यक्रम’लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । यसका साथै, प्रधानमन्त्री देउवाले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुने बताएका छन् ।
सभापति देउवाले ‘निर्वाचनमा उम्मेदवारका आंकाक्षी धेरै हुनु स्वभाविक हो, तर आफूले टिकट पाएमात्र जितिन्छ भन्ने भ्रम पाल्नु हँुदैन,’ भन्दै पार्टीभित्र अन्तर्घात गर्नेलाई अनुशासन समिति बनाएर तत्काल कारबाही गर्ने स्पष्ट पारे । आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन व्यक्तिगत स्वार्थ छोडी एक ढिक्का भएर लाग्न सबैलाई निर्देशन दिँदै उनले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि डेढ महिनाअघि नै उम्मेदवार चयन गरिसक्ने जानकारी गराए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्पीडित जनतालाई अधिकार दिलाउन स्थानीय निर्वाचन अपरिहार्य भएको बताउँदै स्थानीय तहको आगामी निर्वाचनमा मधेश कन्द्रीत दल पनि सहभागी हुने विश्वास व्यक्त गरे । ‘मधेशको पक्ष र विपक्षमा को छ भन्ने प्रष्ट पार्नका लागि पनि संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनुपर्दछ,’उनले भने – ‘पार्टीको गुटउपगुटभन्दा माथि उठेर टिकट वितरण गर्न सक्नुपर्दछ ।’
नेता पौडेलले पार्टीका स्थानीय संयन्त्रबाटै टिकट वितरण प्रक्रिया टुङ्ग्याउनुपर्नेमा जोड दिदैं काँग्रेस मधेशबाटै जन्मिएको पार्टी हो, त्यसैले प्रदेश नं २ ले नै काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने विश्वास व्यक्त गरे ।
महामन्त्री डा शशांक कोइरालाले काँग्रेस प्रदेश नं २ बाट पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै टिकट नपाएका असन्तुष्ट नेता कार्यकर्तालाई प्रदेश र संघको निर्वाचनमा व्यवस्थापन गर्न सकिने धारणा व्यक्त गरे ।
नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनमा गुटउपगुटका भन्दा पनि पार्टीले योग्य उम्मेदवार चयन गर्नुपर्ने सुझाव दिँदै संविधान संशोधन विधेयक प्रक्रियामा लैजान काँग्रेस तयार रहेको बताए ।