वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आएका दुई पार्टी विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
एकता निम्ति गठित वार्ता समितिका सदस्यहरूबीच आधारभूत विषयमा समझदारी भइसकेको र एकीकरणका सबै प्राविधिक विषय सल्टाएर बढीमा एक महिनाभित्रै औपचारिक घोषणा हुने दुवै पार्टी सम्बद्ध स्रोतले जानकारी दियो।
‘वार्ता समितिका सदस्यहरूबीच धेरै राउन्ड मिटिङ भइसकेका छन्। एकता प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ,’ स्रोतले सेतोपाटीसँग भन्यो, ‘अहिलेसम्म भएका सहमति र केही प्राविधिक विषयलाई अन्तिम रूप दिने काम हुँदैछ। औपचारिक घोषणा हुन अब एक महिनाजति लाग्ला।’
साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले यसलाई पुष्टि गर्दै ‘परम्परागत पार्टीको तुलनामा एकता प्रक्रिया सहज ढंगले अघि बढेको’ प्रतिक्रिया दिए।
‘हामीले एकीकृत भावनाले एकीकरण प्रक्रिया सुरु गरेका हौं। हाम्रो राजनीतिक दृष्टिकोण, मूल्य–मान्यता र नेपालको राजनीतिलाई वैकल्पिक बाटो दिन्छौं भन्ने सोच एउटै छ,’ उनले सोमबार सेतोपाटीसँग भने, ‘त्यो हुँदाहुँदै दुइटा अलग–अलग राजनीतिक संस्था भएकाले एकतामा जान केही प्राविधिक पक्षहरू छन्। हामी त्यसैलाई अन्तिम रूप दिने प्रक्रियामा छौं।’
उनका अनुसार दुवै पार्टीको विधान, घोषणापत्र, नेतृत्व, नाम, चिह्न लगायत प्राविधिक विषयमा छलफल जारी छ। यसलाई टुंग्याउनेबित्तिकै दुवै पक्षबीच एकीकरण सम्झौता गरेर औपचारिक घोषणा गर्ने तयारी रहेको उनले बताए। ‘छिट्टै पार्टी एकीकरण गरेर संघीय चुनावमा सँगसँगै जाने हाम्रो योजना हो,’ उनले भने।
स्रोतका अनुसार एकीकृत पार्टीको नाम के हुन्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ।
दुवै पार्टीको नाम जोडेर साझा विवेकशील वा विवेकशील साझा राख्ने प्रस्ताव प्रमुख रूपमा अगाडि आएको छ। छुट्टै नयाँ नाम खोजी गर्ने कि भन्ने पनि सोच छ। तर, तीन–चार वर्षदेखि विभिन्न एजेन्डामा वकालत गर्दै पहिचान बनाएको विवेकशील र पछिल्लो स्थानीय निर्वाचनबाट छुट्टै परिचय बनाएर अघि बढेको साझाको ब्रान्डलाई एकीकृत पार्टीमा कायम राख्नुपर्छ भन्ने तर्क अगाडि आएको स्रोतले बतायो।
त्यस्तै, एकीकरणपछि कसको नेतृत्व रहने भन्नेबारे विभिन्न प्रस्तावमा कुराकानी भइरहेको स्रोत बताउँछ। खासगरी एकीकृत महाधिवेशनअघि अन्तरिम कालको नेतृत्व कसले लिन्छ भन्ने दुवै पार्टीभित्र चासो छ। यसलाई आपसी सहमतिमै सल्टाएर दुवै जना अध्यक्षलाई संयोजकका रूपमा राख्न सकिने स्रोत बताउँछ।
यी दुवै दल वैकल्पिक राजनीतिक शक्तिका रूपमा आएका हुन्। उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलमा युवा पुस्ताको संलग्नता बढी छ। दोस्रो संविधानसभा निर्वाचनमै ‘कुकुर’ चिह्न लिएर भाग लिएको यो दलले त्यतिबेला आफ्नो उपस्थितिको छनक भने दिन सकेको थिएन।
विवेकशील दल चर्चामा आएको वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अभियानमा ऐक्यबद्धता जनाउँदै सडक प्रदर्शनमा ओर्लिएपछि हो। स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा व्याप्त बेथितिविरुद्ध डा. केसीले छेडेको सत्याग्रह आन्दोलनमा विवेकशील नेपालीले औपचारिक रूपमै समर्थन जनाउँदै आएको छ। भ्रष्टाचारविरुद्ध अभियान क्रममा प्रधानमन्त्री निवास तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाहिर गरिएको चरणबद्ध प्रदर्शनले पनि यो दललाई चर्चामा ल्याएको थियो।
विवेकशीलकी रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा ल्याएको नतिजाले त धेरैलाई चकित तुल्यायो। उनी २२ हजारभन्दा बढी मत ल्याएर तेस्रो भएकी थिइन्।
त्यस्तै, बिबिसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएका पत्रकार रवीन्द्र मिश्रको साझा पार्टी पनि सुशासन र भ्रष्टाचारविरोधी नाराले बढी लोकप्रिय छ। बौद्धिक, प्राज्ञिक, चिकित्सा, प्रशासन, पत्रकारिता लगायत विविध क्षेत्रका व्यक्ति संलग्न रहेर स्थापना गरिएको यो पार्टी स्थानीय निर्वाचनभन्दा एक महिनाअघि मात्र घोषणा भएको थियो। औपचारिक दर्तासमेत नभएको अवस्थामा चुनावमा भाग लिए पनि काठमाडौं महानगरपालिकामा यसका मेयर उम्मेदवार किशोर थापा १७ हजारभन्दा बढी मत ल्याएर चौथो भएका थिए।
एकै उद्देश्यले राजनीतिमा लागेका दुवै दल एकीकृत रूपमै चुनावमा जानुपर्नेबारे स्थानीय निर्वाचनअघि नै कुरा उठेको थियो। त्यतिबेला पार्टी एकीकरण गरेर जाने र त्यो सम्भव नभए कम्तीमा एकीकृत उम्मेदवार उठाउनेबारे छलफल चलेको थियो। तर, यो प्रयासले मूर्तरुप लिन सकेन।
निर्वाचन क्रममा जनस्तरबाट आएको राय र सुझावका कारण लगत्तै एकीकरण प्रक्रियालाई तीव्रता दिएको दुवै दलका प्रतिनिधिहरूले बताउँदै आएका छन्।