माओवादी केन्द्रबाट ६ जना मन्त्री थपिएका छन्। यसअघि शेरबहादुर देउवा मन्त्रीमण्डलमा माओवादी केन्द्रले एक उपप्रधानसहित तीन जना मन्त्री पठाएको थियो। बुधबार गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, सन्तकुमार चौधरी र आशा खनाल कोइरालाले मन्त्रीको सपथ लिएका छन्।
पोखरेल यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत शिक्षामन्त्री थिए। उनी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ निकट हुन्। त्यसअघि पोखरेल गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल नेतृत्वको पहिलो सरकारमा स्वास्थ्य मन्त्री भएका थिए।
माओवादी नेता महेन्द्रबहादुर शाही ऊर्जामन्त्री बनेका छन्। कालिकोटबाट प्रत्यक्ष निर्वाचित शाही लोकमानसिंह कार्कीविरुद्ध महाभियोग दर्ता गरेपछि चर्चामा आएका थिए। उनी माओवादी लडाकुका पूर्वकमाण्डर हुन्। २०४२ सालदेखि राजनीतिमा लागेका उनी २०५२ देखि नै माओवादीमा संलग्न भएका हुन्।
माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेत पनि मन्त्री बनेका छन्। उनी सल्यानबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनले कृषिमा जेटिए अध्ययन गरेका छन्। नेपालको कम्युनिष्ट आन्दोलन र संविधान निर्माणमा जनसहभागिताका विषयमा उनका कृति प्रकाशित छन्। बस्नेत २०४७ सालदेखि राजनीतिक रुपमा सक्रिय रहँदै आएका छन्।
त्यस्तै शिवकुमार मण्डल केवट मोरङ–४ बाट निर्वाचित सांसद हुन्। उनी माओवादीको तर्फबाट प्रदेश नं १ बाट निर्वाचित एक्ला सांसद हुन्। उनले गत संविधान सभा निर्वाचनमा कांग्रेस उम्मेदवारलाई ८ मतले हराएर निर्वाचित भएका थिए।
समानुपातिक सांसद आशा कोइराला माओवादी केन्द्रबाट क्याबिनेट मन्त्री बनेकी एक मात्र महिला हुन्। स्नातक तहसम्म अध्ययन गरेकी कोइराला शिक्षण पेसा छाडेर २०५४ सालमा भूमिगत बनेकी थिइन्। उनी साढे ६ वर्ष जेल परेकी थिइन्।
माओवादीबाट मन्त्री भएका सन्तकुमार चौधरी बर्दिया–३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी २०५३ सालदेखि माओवादी आन्दोलनमा लागेका थिए।