शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपाली कांग्रेसका तर्फबाट १० जना नयाँ मन्त्री बनेका छन्। उनीहरुले बुधबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेका छन्।
कांग्रेसबाट मन्त्री बनेका कानुन यज्ञबहादुर थापा कास्की १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी पहिलो पटक मन्त्री बनेका हुन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायर डोटी १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। गणितमा स्नातकोत्तर अध्ययन गरेका उनी २०३३ सालमा कांग्रेसको राजनीतिमा लागेका थिए। उनले साढे ३ वर्ष बन्दी जीवन बिताएका थिए।
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी २०६४ सालको संविधान सभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका थिए। २०७० सालको चुनावमा काठमाडौं १० मा दाहाललाई नै हराएर सांसद निर्वाचित भएका थिए। २०४० सालमा कांग्रेसको राजनीति सुरु गरेका केसीले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्।
धनुषा २ बाट निर्वाचित रामकृष्ण यादव कृषि मन्त्री बनेका छन्। २०२९ सालमा कांग्रेसको राजनीति सुरु गरेका थिए। २०३३ सालमा उनी भूमिगत भएका थिए। अर्थशास्त्रमा स्नातक गरेका प्रजातन्त्र पुनस्र्थापनाअघि यादव ८ वर्ष जेल परेका थिए।
काठमाडौं ६ बाट निर्वाचित भीमसेनदास प्रधान कृष्णप्रसाद सिटौला समूहबाट मन्त्री बनेका हुन्। रसायनशास्त्रमा स्नातकोत्तर गरेका प्रधानले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्। राजनीतिमा आउनुअघि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक थिए।
वाणिज्य मन्त्री बनेका मीन विश्वकर्मा समानुपातिक सांसद हुन्। देउवा मन्त्रीमण्डलमा उनी एकमात्र दलित समुदायका मन्त्री हुन्। भोजपुर स्थायी घर भएका विश्वकर्मा २०४६ सालमा कांग्रेसको राजनीतिमा लागेका थिए। राजनीतिमा आउनुअघि उनी प्राध्यापन र परामर्श पेशामा संलग्न थिए। उनको नेपालमा दलित समूदायको स्थिति पुस्तक २०६० सालमा प्रकाशित भएको थियो।
सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका मोहन बस्नेतले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनी खुमबहादुर खड्का समूहबाट मन्त्री भएका हुन्। राजनीति र समाजशास्त्रमा स्नातकोत्तर गरेका बस्नेत २०३४ सालदेखि कांग्रेसको राजनीतिमा लागेका थिए। उनी पटकपटक गरी १ वर्ष जेल बसेका छन् भने राजाको शासनकालमा तीन महिना निर्वासनमा गएका थिए।
सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत देउवा मन्त्रीमण्डलमा कांग्रेसबाट एक्ली महिला हुन्। काठमाडौंकी स्थायी बासिन्दा ६७ वर्षीया बस्नेत अविवाहित नेतृ हुन्। उनले अर्थशास्त्रमा स्नातक गरेकी छन्। उनी २०२९ सालमा कांग्रेसको राजनीतिमा लागेकी थिइन्। २०४२ सालको सत्याग्रहमा उनी जेल समेत परेकी थिइन्।
अन्तिम समयमा देउवा मन्त्रिमण्डलमा ‘इन्ट्री’ गरेका खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव धनुषाका समानुपातिक सांसद हुन्। यसअघि उनी नेपाल तरुण दलका अध्यक्ष थिए। २०७२ सालमा भएको कांग्रेस महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। अघिल्लो संविधान सभामा पनि यादव समानुपातिक सांसद थिए।
बालुवाटार स्रोतका अनुसार देउवा समूहबाट मन्त्री बनेका चार जनामध्ये कोही पनि मधेसी समुदायबाट नपरेपछि अन्तिम समयमा देउवाले श्रेष्ठको ठाउँमा यादवलाई मन्त्री बनाउने निर्णय गरेका हुन्।