प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सकभर एकै दिन प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने तयारीमा रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहीबार निर्वाचन आयोगका पदाधिकारीसँगको बैठकमा देउवाले सरकारको उक्त धारणाबारे जानकारी दिएका हुन्। बैठकमा उपप्रधान एवं परराष्ट्र, गृह र अर्थमन्त्री सहभागी थिए।
निर्वाचन खर्च घटाउन पनि सरकार एकैपटक दुवै निर्वाचन गर्नुपर्ने धारणामा रहेको प्रधानमन्त्री देउवाले बताए। जनताको मत बदर नहुने गरी मतदान प्रक्रियामा सुधार गरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी थाल्न उनले आयोगका पदाधिकारीहरुलाई आग्रह गरे।
बैठकमा निर्वाचन आयोगका पदाधिकारीले भने अहिलेकै अवस्थामा एकै दिन दुवै निर्वाचन गर्न सहज नहुने बताएका थिए। मतपत्रलाई विद्युतीय र त्यसमा पनि स्मार्ट बनाउन सकियो भने प्रधानमन्त्रीले भनेजस्तो दुवै निर्वाचन एकै दिन सम्भव भएको उनीहरुको भनाइ थियो।
बैठकमा निर्वाचन आयोगका पदाधिकारीले विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्न प्रस्ताव गरेका थिए। त्यस विषयमा प्रधानमन्त्रीले सबै राजनीतिक दलसँग परामर्श गर्न सुभाव दिए।
बैठकमा प्रधानमन्त्रीले जनताको ‘एक एक मतको कदर हुनुपर्ने’ भन्दै मतदान पद्धति सुधार गर्न आग्रह गरेका थिए। सरकार माघ ७ गतेभित्रै प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्न प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले त्यसअनुसार तयार तत्काल थाल्न पनि निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गरे।
क्षेत्र निर्धारण आयोगले काम थालिसकेकाले र निर्वाचनसम्बन्धी दुई कानुन केही दिनभित्रै पास हुने तयारीमा रहेको प्रधानमन्त्रीले जानकारी दिए।