अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणभएपछि २००७ सालदेखिको नेपाली जनताको सपना पूरा बताउँदै अब मुलुकमा राजनीतिक आन्दोलन समाप्त भई आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको बताएका छन्।
भोजपुरे सेवा समाजले अल्ट्राधाविका मीरा राईलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री कार्कीले यी कुरा बताएका हुन्।
उनले नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारले देशमा राजनीतिक स्थायित्वको विकास गर्दै नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्न र मुलुकको अर्थतन्त्र उकास्न आफू प्रतिबद्ध रहेको बताए।
नेपालको निर्यात घटेको र आयात बढिरहेकोमा चिन्ता व्यक्त गर्दै देशमा आयात न्यूनीकरण गर्ने चुनौति रहेको पनि उनले बताए।
जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट देशलाई सम्पन्न गर्ने बताउँदै उनले भोजपुरबाट तराई जोड्ने सडकको सुदृढिकरण र आवश्यक पुल निर्माण गर्नेतर्फ सरकारले ध्यान दिने बताए।
अर्थमन्त्री कार्कीले जापान सरकारले नेपाललाई विभिन्न क्षेत्रमा गर्दैआएको सहयोगको सरहाना पनि गरे। रासस