राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले संविधान संशोधन विधेयक के गर्ने भन्नेमा कांग्रेस प्रष्ट हुन नसकेको बताएका छन् ।
महतोले कांग्रेसले औपचारिक रुपमा आफ्नो धारणा स्पष्ट पार्न नसकेको उनले सेतोपाटीलाई बताए।
महतोले भने, ‘नेपाली कांग्रेसको नियत के हो, संविधान संशोधनबारे के सोचिरहेको छ ? विधेयक पारित गर्ने की नगर्ने? अथवा भोटिङमा लगेर फेल गराउने हो? भन्नेमा कांग्रेस स्पष्ट हुनुपर्छ।’
संविधान संशोधनबिना याथास्थितिमा निर्वाचनमा जान नसकिने उनको भनाइ छ।
‘संविधान संशोधन लगायतका माग पूरा नभएकै आधारमा छ वटा प्रदेशको निर्वाचन बहिष्कार गरेका छौं.’ उनले भने, ‘माग पूरा नभए राजपाले तेश्रो चरणको निर्वाचनमा पनि भाग लिँदैन।’
निर्वाचनमा जाने वातावरण नबनेकोले संघर्षमा जान बाध्य हुने महतोले बताए । ‘पार्टीको बटमलाईन भनेको अहिले पनि संघर्ष नै हो। परिवर्तन भएको छैन,’उनले भने,‘साउन २२ गतेदेखि बस्ने केन्द्रीय कमिटिको बैठकले आगामी कार्यनीति तय गर्छ।’
माग पूरा नभएकोले संघर्ष गर्ने बटमलाईन परिवर्तन हुने कुनै आधार नदेखिएको महतोको भनाई छ ।
राजपाको पदाधिकारी बैठक साउन १८ गते बस्दैछ भने केन्द्रीय कमिटिको बैठक साउन २२ गतेदेखि बस्ने भएको छ ।