नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्व विधिसम्मत र प्रभावकारीरुपमा नचल्दा स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चनु परेको बताएका छन्।
नेपाल तरुण दल काठमाडौँले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मान, मन्त्रिपरिषद्मा सहभागी काठमाडौँ काँग्रेसका नेताहरुको स्वागत एवं ‘तरुणको क्षमता अभिवृद्धि र नेतृत्व विकास तालिम’ कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भ्रातृ संस्था महाधिवेशनबाट निर्वाचित भए पनि विधानसम्मत काम गर्न नसकेको बताए।
सो अवसरमा युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले पार्टी र भातृ संस्थाले विगतका गतिविधिको समीक्षा गरेर अघि बढ्नुपर्ने बताए।
काठमाडौँमा अन्तरघातका कारण काँग्रेसको हार भएको सहकारी एवं गरिबी निवारण मन्त्री अम्बिका बस्नेतको भनाइ छ।
कार्यक्रममा काँग्रेस काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाँ, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, सांसद उदयशम्शेर राणा, दलका महासचिव भूपेन्द्रजंग शाही, दलका काठमाडौँ अध्यक्ष कृष्णजी खड्कालगायतले पार्टी र भातृ संस्था जनभावनाअनुरुप विधिसम्मतरुपमा चल्नुपर्नेमा जोड दिए।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) लगायत वडा अध्यक्ष एवं सदस्यलाई सम्मानसमेत गरिएको थियो । प्रशिक्षण चार दिनसम्म चल्ने तरुण दल काठमाडौँले जनाएको छ । रासस