नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले असोज २ गते हुने स्थानीय तहको निर्वाचनलाई नेपाली काँग्रेसले जीवन मरणका रूपमा लिनुपर्ने बताएका छन्।
नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिद्वारा आज जनकपुरधाममा आयोजित २ नं प्रदेशस्तरीय प्रचार प्रसार विशेष भेलामा उनले दुई नम्बर प्रदेशमा काँग्रेसले एकसय सिट जित्ने लक्ष्य राख्नुपर्ने धारणा राखे।
उनले संविधान संशोधनका लागि काँग्रेस र नेकपा माओवादी केन्द्र प्रतिबद्ध भए पनि केही दलको अविश्वसनीय अवस्थाका कारण निर्णायक क्षणमा प्रवेश गर्न चिन्तन मनन भइरहेको जानकारी दिए।
केन्द्रीय सदस्य एवम् खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले २ नम्बर प्रदेशको निर्वाचन काँग्रेसको इज्जतसँग गाँसिएको धारणा राख्नुभयो ।
केन्द्रीइ सदस्य आनन्दप्रसाद ढुङ्गानाले मधेस भनेको काँग्रेस र काँग्रेस भनेको मधेस प्रमाणित गर्नुपर्ने खाँचो औंल्याए।
प्रचार प्रचार उपसमितिका संयोजक रमेश लेखकले २ नम्बर प्रदेश काँग्रेसका लागि आधारभूमि र भरोसाको केन्द्र भएको प्रसङ्ग उल्लेख गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवले काँग्रेसलाई पहिलो स्थान प्राप्त गर्ने पार्टी बनाउन सबै एक ढिक्का भई अग्रसर हुनुपर्ने धारणा राखेका थिए । रासस