पाकिस्तानी प्रधानमन्त्रीका मुख्य दावेदार मानिएका शेहवाज शरिफलाई सांसद बन्न समय लाग्ने भएपछि मुस्लिम लीग पार्टीले पूर्व पेट्रोलियममन्त्री शाहीद खाकान अब्बासीलाई अन्तरिम प्रधानमन्त्री चयन गरेको छ।
नवाज शरिफका कान्छा भाइ शेहवाजले सांसद नबनी प्रधानमन्त्री पद सम्हाल्न नपाउने नियम पाकिस्तानमा छ। तल्लो सदनको सदस्य हुन शेहवाजले लामो प्रक्रिया पूरा गर्नुपर्नेछ।
शेहवाज हाल पन्जाब प्रान्तका मुख्यमन्त्री छन्। प्रधानमन्त्री बन्न उनले पहिले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्नेछ। त्यसपछि केन्द्रीय संसदको तल्लो सदन 'नेशनल एसेम्बली'को उपचुनावमा पनि जित्नुपर्नेछ।
उनको यो प्रक्रिया पूरा नहुन्जेल अब्बासीलाई ४५ दिनको अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको हो।
स्रोत नखुलेको अधिक सम्पत्ति थुपारेको भन्दै अदालतको आदेशअनुसार नवाज शरिफ बाहिरिएपछि उनले पाकिस्तानी प्रधानमन्त्रीको डोर शेहवाजलाई सम्हाल्न दिने तयारी गरेका हुन्।