जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकको निर्वाचनमा नेपाली काँग्रेस–माओवादी केन्द्रबीच गठबन्धन भएको छ ।
सो निर्वाचन यही साउन २५ गते हुँदैछ । गठबन्धन अनुसार प्रमुखमा नेपाली काँग्रेसका शङखबुद्ध लामा तथा उपप्रमुखमा माओवादी केन्द्रका चेतमाया चौलागार्इं गौतमले उम्मेदवारी दिएकी छन्।
त्यस्तै नेकपा (एमाले)बाट प्रमुखमा उद्धव केसी, उपप्रमुखमा मञ्जु गौतमको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत मेदिनी पौडेलले जानकारी दिए।
उनले आज कसैको उजुरी नपरेकाले नामावली प्रकाशन भएको उल्लेख गर्दै मंगलबार अन्तिम नामावली प्रकाशन गरिने बताए।
नेकपा एमालेले समन्वय समितिको निर्वाचनका लागि नौ पदमा नै उम्मेदवारी दिएको छ भने काँग्रेस–माओवादी गठबन्धनले पदमा बाडफाँट गरेका छन् । जिल्लामा नौ पदका लागि १८ जनाको उम्मेदवारी परेको छ । जिल्लामा रहेका १३ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २६ जना मतदानमा सहभागी हुन्छन् ।
समन्वय समितिको निर्वाचनबाट एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित तथा अल्पसंख्यक र अन्य गरी कुल नौ जना निर्वाचित हुनेछन् । रासस