निर्वाचन क्षेत्र निर्धारण आयोगले आज विराटनगरमा संसदीय क्षेत्र निर्धारणका लागि राजनीतिक दल र सरोकारवालासँग राय सुझाव संकलन गरेको छ ।
सो अवसरमा उनीहरुले मोरङमा कम्तीमा सातवटा संसदीय निर्वाचन क्षेत्र हुनुपर्ने, जनसङ्ख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने तथा आयोगले निष्पक्ष ढंगले क्षेत्र निर्धारण गर्नुपर्नेलगायतका सुझावहरू दिएका थिए।
कार्यक्रममा निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य गणेशराज कार्कीले आयोगले निर्धारित समयसीमाभित्र क्षेत्र निर्धारण कार्य सम्पन्न गर्न अहोरात्र खटिरहेको जानकारी दिए।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद शेखर कोइरालाले यो संवैधानिक आयोग भएकाले आयोगको निर्णय निष्पक्ष हुने विश्वास व्यक्त गर्दै मोरङमा कम्तीमा सातवटा निर्वाचन क्षेत्र हुनुपर्ने माग राखे।
नेकपा(एमाले) मोरङका अध्यक्ष विनोद ढकालले क्षेत्र निर्धारण गर्ने क्रममा स्थानीय तह र जातीय समूहलाई प्रभावित नपर्ने गरी कार्य गर्नुपर्ने बताउँदै मोरङमा सातवटा संसदीय क्षेत्र निर्धारण हुनुपर्नेमा जोड दिए।
नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गणेश उप्रेतीले जनसङ्ख्या र भुगोलका आधारमा क्षेत्र निर्धारण हुनुपर्ने आवश्यकता औंल्याए।
सङ्घीय समाजवादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादवले जनसंख्याको आधारमा क्षेत्र निर्धारण हुनुपर्ने बताए।
नेपाल लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष भक्ति माझीले जातीय समूहका आधारमा क्षेत्र निर्धारण हुनुपर्ने सुझाव दिए। रासस