ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् सेवा नपुगेका मुलुकको ग्रामीण क्षेत्रमा प्रसारण लाइन पुर्याउन सरकारले विशेष पहल गर्ने बताएका छन्।
मुलुकमा अझै पनि ३५ प्रतिशतभन्दा बढी भू–भागमा विद्युत् सेवा पुग्न नसकेको उल्लेख गर्दै उनले सरकारले सो क्षेत्रमा विद्युतीकरणका लागि विशेष प्राथमिकता दिने बताए।
विद्युत् सेवा पुगेका स्थानमा नियमित र व्यवस्थित तवरले सेवा दिने नियमित काम भए पनि सेवा नै नपुगेका स्थानमा सेवा पुर्याउनु अर्को महत्वपूर्ण कार्यभार रहेको उनको भनाइ थियो ।
विद्युत् प्रसारण लाइन विस्तार गरिदिन माग गर्दै आज ऊर्जा मन्त्रालयमा सल्यानका राजनीतिक दलले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री शाहीले भने, “जनताको सेवाबाहेक मेरो अरु कुनै कार्यसूची छैन । विद्युत् सेवाको विस्तारमा पूर्ण प्रतिबद्ध भएर लाग्नेछु । त्यसमा सबैको साथ सहयोग जरुरी छ ।”
प्रतिनिधिमण्डलले सल्यानको शारदा बबई विद्युत् जलाशय आयोजनाको कार्यालय स्थापना गर्नेबारे छिटो पहल गर्न पनि माग गरेको पूर्वसभासद उमाकान्त शर्माले जानकारी दिए।
शर्माले स्थानीय तहदेखि सदरमुकामसम्म प्रशारण लाइन जोड्नेबारे मन्त्री शाहीको ध्यानाकर्षण गराएको बताए ।
सल्यानका दार्मा, कुमाख र कालिमाटी गाउँपालिकामा अहिलेसम्म विद्युत् पुगेको छैन। ती स्थानका बासिन्दा कहिले बिजुली बाल्न पाइएला भन्दै प्रतीक्षामा बसिरहेका छन् । रासस