नेपाली कांग्रेसका नेता तथा सांसद धनराज गुरुङले बुधबार संसदको विशेष समय लिएर ‘सिंगो देश भ्रष्टाचारले थला परेको बेला संसद तमासे बनेर बस्न नहुने’ बताएका छन्।
भ्रष्टाचारका ठूल्ठूला काण्ड हुँदा पनि छानबिन नभएको आरोप लगाउँदै उनले भने, ‘जुम्रा, जुका, किर्ना आदि कीराहरू परजीवि हुन्, जसले अरूको रगत चुसेर बाँच्छ। नेपालका नेता, कर्मचारी र व्यापारीहरू पनि परजीविजस्तै देखिन्छन् भन्नुपर्दा आफैंलाई लज्जाबोध भएको छ।’
उनले पछिल्लो समय सार्वजनिक भएका केही भ्रष्टाचार काण्डबारे संसदमा चर्चा गरे।
कांग्रेसका केन्द्रीय सदस्य तथा समानुपातिक सांसद र लेखा समिति सदस्य गुरुङले सबभन्दा पहिला नक्कली भ्याटबिलको प्रसंग झिके।
‘नक्कली भ्याटबिल बनाएर नेपाली जनताको अर्बौं रुपैयाँ ठग्ने उद्योगी व्यापारीहरूलाई कारबाही गर्नैपर्थ्यो, तर उक्त काण्डको छानबिन गर्नुको साटो राज्यद्वारा ढाकछोप गरियो। यो राज्यविरुद्ध अपराध हो,’ उनले भने।
एनसेलको पुँजीगत लाभकरमा उठेको विवादबारे पनि गुरुङले संसदको ध्यानाकर्षण गराए।
‘एनसेलबाट अर्बौं रुपैयाँ पुँजीगत लाभकर असुलउपर गर्नुको साटो उन्मुक्ति दिलाउन सिंहदरबारको मझेरीमा पटक–पटक ठूलो चलखेल भएको दुनियाँलाई थाहा छ। नेपाली जनताका लागि योभन्दा दुर्भाग्य के हुन सक्छ?’ उनले भने।
उनले जनताबाट असुल गरेको अर्बौं रुपैयाँ राजस्व व्यापारीलाई पोस्ने कर फर्छ्यौट काण्डलाई पनि छाडेनन्।
उक्त काण्डमा मुछिएका आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक तथा कर फर्छ्यौट आयोगका सदस्य–सचिव चूडामणि शर्मा हिरासतमा छन्। त्यही काण्डमा मुछिएका लुम्बध्वज महत र उमेश ढकाल भने कारबाहीमा नपरेकोमा उनले प्रश्न उठाए। ‘महत र ढकाल राजनीतिक पार्टीको पछ्यौरीले मुख छोपेर कहाँ बेपत्ता भए?’ उनले प्रश्न गरे, ‘देश चलाउँछु भन्ने नेताहरूले लाज लाग्नुपर्ने हो कि होइन?’
पनामा पेपर्स काण्डमा मुछिएका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ एक साताअघि प्रधानमन्त्री पदबाट पदच्यूत भएको प्रसंग उल्लेख गर्दै सांसद गुरुङले त्यही काण्डमा मुछिएका १३ जना नेपाली उद्योगपति, व्यापारीबारे छानबिन नै नहुनु दुःखद भएको बताए।
‘यसले दुनियाँको अगाडि मुख देखाउन पनि हामी लायक रहेनौं,’ उनले भने।
नेपाल आयल निगमले जग्गा खरिद गर्दा करोडौं भ्रष्टाचार भएका तथ्य सञ्चारमाध्यममा आइरहँदा पनि छानबिनको अधिकारप्राप्त निकायहरू कानमा तेल हालेर र आँखामा पट्टी बाँधेर बसिरहेको टिप्पणी गर्दै उनले यसलाई ‘विडम्बनापूर्ण’ बताए।
उनले बूढीगण्डकी जलविद्युत आयोजनाको प्रसंग पनि झिके।
‘बूढीगण्डकी जलविद्युत आयोजना निर्माण आवश्यक छ, बनाउनुपर्छ। बनाउने कुरामा दुईमत छैन,’ उनले भने, ‘तर, १२०० मेगावाटको यो जलविद्युत आयोजनालाई ४२.५ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत आयोजना निर्माण गर्न नसकेर बैंक ग्यारेन्टीसमेत जफत भएर कालोसूचीमा परेको गेजुवालाई हतार–हतार जिम्मा दिनुका पछाडि जालझेल र कमिसनको खेला होला?’
‘यति गम्भीर विषयमा सत्तापक्ष र प्रतिपक्ष तैं चुप मैं चुप सबै चुप किन हो? काले–काले मिलेर खाउँ मिलेर खाउँ भाले भएको हो? के नेपालका नेता, कर्मचारी, व्यापारी सबै जनताको रगत चुस्ने परजीवि नै भइसकेका हुन्?’ उनले भने।
ठूल्ठूला घोटाला काण्ड सार्वजनिक हुँदा पनि नेताहरूले मुख नखोल्दा उनीहरू बाहिरबाट देखिने पात्र मात्र बन्दै गएको गुरुङको टिप्पणी थियो। यस्तो अवस्थामा भ्रष्टाचारलाई कारबाहीको दायरामा ल्याउन संसदले नै पहल लिनुपर्नेमा गुरुङले जोड दिए।
‘उल्लिखित घोटाला काण्डहरू आफैं बोल्छन्– यो मुलुक माफियाहरूले चलाउँछन्, नेताहरू त बाहिर देखिने पात्र मात्रै हुन्। माफियाको चंगुलबाट देशलाई मुक्त नपारेसम्म देश समृद्ध बन्न सक्दैन। सिंगो देश भ्रष्टाचारले थला परेको बेला यो संसद तमासे बनेर बस्न हुँदैन। तसर्थ यस्ता भ्रष्टाचारका मुद्दाहरूमा छानबिन गरी भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन संसदले पहल लिन सभामुखलाई अनुरोध छ,’ उनले भने।