भरतपुर महानगरका मेयर उम्मेदवार रेणु दाहाललाई फेसबुकमा गाली गर्दै स्ट्याटस लेखेको आरोपमा पक्राउ परेका देवी ज्ञवालीका छोरा निरभलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि म्याद थप्न अस्वीकार गरेको छ।
महानगरीय अपराध महाशाखाले मंगलबार दिउँसो पक्राउ गरी निरभलाई काठमाडौं प्रहरी परिसरमार्फत् अदालतमा उपस्थित गराएको थियो।
अनुसन्धानका लागि म्याद थप्न प्रहरीले दिउँसै निरभलाई अदालतमा लगेको थियो। अदालतले बिहीबार उपस्थित गराउन भन्दै म्याद थप गरेन।
अदालतले भोलि फेरि ल्याउनू भनेपछि निरभलाई लिएर गएका प्रहरी फर्किएका थिए। निरभलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ।
'हामीले अनुसन्धानका लागि म्याद थप गर्न निरभलाई अदालतमा लगेका थियौं,' महाशाखाका उच्च प्रहरी अधिकारीले सेतोपाटीसँग भने, 'खोइ किन हो भोलि ल्याउनू भनेका छन्। हामी भोलि लैजान्छौं।'
काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार ध्रुव उप्रेतीले यस विषयमा आफूलाई थाहा नभएको बताए। 'कुनै कागजात पुगेन होला,' उनले भने, 'पक्राउ परेको २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानुनी प्रावधान छ, अदालतले आज फर्काए पनि केही हुँदैन।'
गत वैशाखमा भएको स्थानीय निकायको चुनावमा मतपत्र च्यातिएपछि निरभले आफ्ना बाबुका प्रतिस्पर्धी रेणुलाई तथानाम गाली गरेका थिए। आफूलाई गाली गरेपछि रेणुले निरभविरुद्ध अपराध महाशाखामा उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले उनलाई पुतलीसडकबाट पक्राउ गरेको हो। निरभ कानुन पढ्दैछन् ।
निरभविरुद्ध प्रहरीले साइबर क्राइममा मुद्दा चलाउने भएको छ। साइबर क्राइममा बढीमा ५ वर्ष कैद र १ लाख जरिवाना अथवा दुवै हुन सक्ने व्यवस्था छ।