प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संसोधन संसदबाट पास गराएरै छोड्ने बताएका छन्।
प्रदेश २को कार्यकर्ता भेलालाई बिहीबार जनकपुरमा सम्बोधन गर्दै उनले मधेसी जनभावना अनुसार संशोधन गरिने आश्वासन दिएका हुन्।
'संविधान संसोधन प्रस्ताव सरकारले छिटै संसदमा पेश गर्नेछ। र यो जसरी पनि पास हुन्छ। हामी गराएरै छोड्छौँ,' प्रधानमन्त्री देउवाले भने।
प्रदेश नम्बर २मा चुनावी माहौल सिर्जना गर्न र मधेसी जनमत बुझ्नका लागि कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेलामा उनले मधेस विकासका लागि विभिन्न विकासका आयोजना सरकारले तदारुकताका साथ अघि बढाउने आश्वासन समेत दिए।
'हुलाकी राजमार्ग, फास्ट ट्र्याक निजगढको इन्टरनेसनल एयरपोर्ट तराईको विकासका लागि महत्वपूर्ण आयोजना हुन्। यिनले तराईलाई काठमाडौं र पहाडलाई समेत जोड्न सहयोग गर्छन्,' देउवाले भने, 'यी आयोजनालाई तदारुकताका साथ अघि बढाउन सरकारले विषेश पहल गर्नेछ।'
प्रधानमन्त्री देउवाले भारतले लगानीमा चासो देखाएको पूर्वपश्चिम रेलमार्ग अघि बढाउन समेत आफ्नो सरकारले पहल गर्ने बताए। त्यस्तै जनकपुरलाई महानगरपालिका बनाउन कांग्रेसले पहल उनले अाश्वासन दिए।
२ नम्बर प्रदेशको स्थानीय चुनावमा कांग्रेसले धेरै सिट ल्याउनुपर्नेमा उनको जोड थियो। जित्ने उम्मेदवार उठाए त्यसमा केन्द्रले हस्तक्षेप नगर्ने आश्वासन देउवाले कार्यकर्तालाई दिए। '२ नम्बर प्रदेशको टिकट वितरणमा केन्द्रले हस्तक्षेप गर्दैन तपाईं तलबाट आफैं आफ्ना उम्मेदवार छान्नुस् र जित्ने उम्मेदवार छान्नुस्,' देउवाले भने, 'केन्द्रले सहयोग गर्छ हस्तक्षेप गर्दैन।'
चुनाव अाउनु महिना दिनअघि नै उम्मेदवार छनोट गरिसक्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी जनताको चाहनाअनुसार संविधान संशोधन हुने र संसदमा पेश भएपछि एमालेले समेत संशोधनमा सहयोग गर्न बाध्य हुनुपर्ने बताएका छन्। त्यस्तै नेता विमलेन्द्र निधिले २ नम्बर प्रदेशमा कांग्रेसले १ सय सिट ल्याउनुपर्नेमा जोड दिए। '२ नम्बर प्रदेशमा कांग्रेसले जित्छ किनभने कांग्रेस र तराई सिक्काका दुई पाटा जस्तै हुन्। तराई र कांग्रेस बलियो हुन पनि यहाँ हाम्रो पार्टीले जित्नुपर्छ,' उनले भने।
प्रदेश नम्बर २ का ८ जिल्लामा १२७ स्थानीय तह छन्। यसअघिको संविधानसभा निर्वाचनमा यो प्रदेशका ४८ क्षेत्र मध्ये कांग्रेसले २१ वटा निर्वाचन क्षेत्र जितेको थियो।