प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा शान्ति सुरक्षा र कानूनी शासन कायम गराउन पूर्ण प्रतिवद्घताका साथ डटेर काम गर्न नेपाल प्रहरीका उच्च अधिकृतलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री देउवालाई भेट्न आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका प्रहरी महानिरीक्षक प्रकाश अर्याल र हालै अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएका टोलीलाई उनले सो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री देउवाले जनधनको सुरक्षाका साथै प्रहरीको छविलाई उच्च राखेर काम गर्नुपर्ने बताउँदै तेश्रो चरणअन्तर्गत आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि विशेष सुरक्षा सतर्कता अपनाउन पनि निर्देशन दिए।
प्रहरीको काम सुरक्षा मात्रै नभई जनताको दुःखसुखमा साथ दिने साथी पनि भएको उल्लेख गर्दै उनले प्राकृतिक प्रकोपमा पनि चुस्तरुपमा कार्य गर्नका लागि सतर्क रहन प्रहरीलाई आग्रह गरे।
प्रधानमन्त्रीले देउवाले प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचन र त्यसलगत्तै हुन लागेको प्रतिनिधसभा र प्रदेससभाको निर्वाचनमा शान्ति सुरक्षाको अवस्था मजबुत पार्न निर्देशन दिएका प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ । रासस