सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर रिट निवेदनमाथिको सुनुवाइ सकिएपछि शुक्रबार निर्णय सुनाउने भएको छ ।
न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशमा आज सुनुवाइ सकेको हुनाले निर्णय शुक्रबार सुनाउन लागिएको हो ।
सो निवेदनमाथि गत आइतबार आयोगका तर्फबाट अधिवक्ताहरु परशुराम कोइराला तथा चेतनाथ घिमिरे र निवेदकका तर्फबाट अधिवक्ता ललित बस्नेतले बहस गरेका थिए।
गत बुधबार सरकारका तर्फबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट अधिवक्ता बोर्णबहादुर कार्की, नरेन्द्रप्रसाद पाठक र यज्ञमूर्ति बन्जाडेले बहस गरेका थिए।
शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएमुताबिक अहिले थुनामा राखिएको छ । सर्वोच्च अदालतको आदेशमा गत मंगलबारदेखि शर्मालाई न्यायिक हिरासतमा राखिएको हो ।
गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलाशले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दा पूर्ण इजलाशमा पठाउन आदेश दिएको थियो ।
शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानुनीरूपमा थुनामा राखेको जिकिरसहित गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए।
कर फर्छ्यौट आयोगका सदस्य सचिव रहेका शर्मामाथि एनसेललाई स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई उन्मुक्ति दिएको२१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ । रासस