दुई नम्बर प्रदेशको वीरगञ्ज महानगरपालिकामा मेयर उठ्न कांग्रेसका १० जना आकांक्षी छन्।
महानगरबाट विजय सराफ, प्रकाश शर्मा, रामरुप कुर्मी, श्याम पोखरेल, प्रकाश उपाध्याय, डिनाप्रसाद पोखरेल, इम्तियाज आलम, मोहम्मद साबुरिन्, ओमप्रकाश शर्मा र अजय द्विवेद्वीको नाम सिफारिस भएर जिल्लामा पुगिसकेको छ।
यता एमालेले वीरगञ्जको मुस्लिम भोट नै तान्न बसुरद्दिन अन्सारीलाई अघि सारेको छ। महानगरमा झण्डै १५/२० हजार मुस्लिम मतदाता छन्। तिनलाई आकर्षित गर्न भर्खरै माओवादीबाट एमाले प्रवेश गरेका स्थानीय व्यापारी अन्सारी मेयर उम्मेदवार चुनिएका हुन्।
वीरग ञ्जमा एमाले प्रभाव खास नरहेको भन्दै परम्परागत भोट आफ्नै पार्टीको भएको कांग्रेसी नेता बताउँछन्।
मधेसवादी दलहरुको उपस्थितिले भने कांग्रेसलाई प्रभाव पार्ने देखिएको छ।
उपेन्द्र यादवको संघीय समाजवादी फोरमले कांग्रेसलाई वीरगञ्ज राजनीतिमा प्रभावित पार्नेछ।
फोरमले विजय सरवागीलाई मेयर उठाएको छ। वीरगञ्जमा नाम चलेका व्यापारी सरवागी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्।
मारवाडी समुदाय र व्यापारीहरुको दबदबा रहेको वीरगञ्जमा कांग्रेसले ओम प्रकाश शर्मालाई उठाएन भने सरवागीले अधिकांश भोट आफ्नो पक्षमा पार्न सक्नेछन्। सरवागी आफैं मारवाडी र व्यापारी भएकाले उनको पल्ला भारी हुनेछ।
कांग्रेसलाई ठूलो टक्कर भने एमाले र संघीय समाजवादीले नभएर राष्ट्रिय जनता पार्टीले दिनेछ।
कांग्रेसका जिल्ला सभापति अजय द्विवेद्वीका अनुसार राजपा चुनावमा आए वीरगञ्जमा द्विपक्षीय प्रतिस्पर्धा हुनेछ।
'एमाले र संघीय समाजवादीसँग मात्र लड्न हामीलाई गाह्रो छैन। राजपासँग भने हामीलाई निकै हम्मे पर्नेछ। र, चुनावमा द्विपक्षीय प्रतिस्पर्धा हुनेछ,' उनले भने।
वीरगञ्ज तराई-मधेस आन्दोलनको केन्द्र हो। त्यसैले यहाँ राजपाको उपस्थिति राम्रो छ।
दुई नम्बर प्रदेश आफ्नो आधार क्षेत्र बनाएको राजपाले वीरगञ्जमा विमल श्रीवास्तवलाई मेयर उठायो भने कांग्रेसलाई चुनाव जित्न हम्मे पर्नेछ।
श्रीवास्तव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरगञ्जका दुई स्थानीय चुनाव जितेर मेयर भइसकेका प्रभावशाली नेता हुन्। ०५४ सालको स्थानीय चुनाव र ज्ञानेन्द्र शाहको पालामा भएको नगरपालिका चुनावमा उनी विजयी भएका थिए।
दुई वर्षअघि राप्रपा छोडेर उनी तमलोपा प्रवेश गरेका हुन्। अहिले तमलोपासहित अन्य मधेसवादी दल मिलेर बनेको राजपामा छन्। यहाँबाट राजपाका बलिया उम्मेदवार उनी नै हुनेछन्।
यस्तो चुनावी राजनैतिक परिस्थितिमा कांग्रेसलाई भने १० जनाबाट मेयर छान्नै सकस छ।
यी १० मध्ये सबैभन्दा बलियो उम्मेदवार जिल्ला सभापति ५५ वर्षीय द्विवेद्वी भएको वीरगञ्जकै सांसद राजेन्द्र अमात्यले बताए।
विद्यार्थी राजनीतिमा सक्रिय द्विवेद्वी बहुदल लगत्तै स्थानीय चुनाव जितेर वीरगञ्जको उपमेयर भएका थिए। वीरगञ्ज कांग्रेसमा निरन्तर रहेका उनको सभापति शेरबहादुर देउवासँग राम्रो सम्बन्ध छ।
पछिल्लो महाधिवेशनबाट उनी जिल्ला पार्टी सभापति बने। राजनीतिमै सक्रिय उनको कुनै पेसा छैन। श्रीमती ठाकुरराम कलेजमा प्राध्यापक छिन्।
पहिलो संविधानसभा चुनावमा पर्सा २ बाट सभासद् चुनिएका द्विवेद्वी ०७० सालमा भने एमालेका विचारी यादवसँग ८ सय मतले हारेका थिए।
क्षेत्र नम्बर २ ले महानगरको ६० प्रतिशत निर्वाचन क्षेत्र समेटेको छ। यहाँबाट कांग्रेसकै राजेन्द्र अमात्यले जितेका थिए।
क्षेत्र नम्बर १ मा दोस्रो संविधानसभा अन्तरघातका कारण हारेको भन्ने कांग्रेसीले महानगरमा आफ्नो जित सजिलै हुने बताउँछन्।
संविधानसभाकै चुनावमा आफ्नो भोट झण्डै ३० हजार रहेको कांग्रेसको हिसाब छ। महानगरमा झण्डै १ लाख मतदाता छन्।
द्विवेद्वीबाहेक मेयर उम्मेदवारमा ओमप्रकाश शर्मा र श्याम पोखरेलको नाम चर्चामा छ। नेता विमलेन्द्र निधि निकट शर्मा व्यापारी हुन्। उनी उठे मारवाडी समुदायको भोट तान्न कांग्रेसलाई सजिलो हुनेछ।
रामचन्द्र पौडेल पक्षका नेता पोखरेल पार्टीमा सक्रिय र पुराना कार्यकर्ता हुन्। केन्द्रीय सदस्य रमेश रिजाललगायतले उनलाई मेयरमा समर्थन गरेका छन्।
धेरै आकांक्षी भएपनि वीरगञ्जमा सकेसम्म सर्वसम्मतबाट मेयर टुंगो लगाउने द्वीवेद्वी बताउँछन्। उम्मेदवार जो बनाए पनि महानगरमा चुनाव जित्न कांग्रेसलाई निकै मिहेनत पर्छ।