काभ्रेपलाञ्चोकको स्थानीय तहमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन भीड लाग्न थालेको छ ।
सात गाउँपालिका र ६ नगरपालिकामा आठ दिनको अवधिमा ६ हजार ७२ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका छन् ।
उनीहरुले गत १६ गतेदेखि २३ गतेसम्म स्थानीय तहमा पुगेर नाम दर्ता गराएका हुन । नाम दर्ता गराएकामध्ये तीन हजार ३५ महिला र तीन हजार ३७ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यो सँगै जिल्लाबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या साउनयता कुल १२ हजार ९३२ पुगेको छ । यसअघि जिल्ला निर्वाचन कार्यालय, धुलिखेलबाट मात्रै ६ हजार ८६० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।
काभ्रेपलाञ्चोकका निर्वाचन अधिकारी मधुकर पोखरेलले स्थानीय तहमा पनि फोटोसहितको मतदाता नामावलीको लागि भीड बढेको जानकारी दिँदै स्थानीय तहले कर्मचारी व्यवस्थापन गरेर फोटोसहितको मतदाता नामावली संकलन भएको बताए।
१६ वर्ष उमेर पुगेका सबै नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने तर मतदान गर्न १८ वर्ष उमेरको हुनुपर्ने कानूनी प्रावधान छ ।
यसअघि जिल्लामा कूल दुई लाख ३० हजार ८४९ मतदाता थिए । स्थानीय तहमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनुका साथै सच्चाउनसमेत स्थानीयवासीको भीड लागेको छ । रासस