सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गरिबीको रेखामुनि रहेकाको जीवनस्तर माथि उठाउन सरकार प्रतिवद्ध रहेको बताएकी छन्।
नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिले आज नयाँपाटीमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उनले भनिन् – “देशभर दर्ता भएका ३४ हजार सहकारीमार्फत कार्यक्रम सञ्चालन गरी गरिबीका रेखामुनि रहेकाका २१ दशमलव ६ प्रतिशत नागरिकको जीवनस्तर माथि उठाइने छ ।”
मन्त्री बस्नेतले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक समुन्नतिका कार्यक्रममार्फत गरिबी निवारण गरिनुपर्नेमा जोड दिदैं सहकारीलाई विश्वसनीय बनाउन शेयरधनी केही पनि होइनन्, सबै सञ्चालक हुन् भन्ने सोचलाई हटाउपर्ने बताइन्।
“लोकतान्त्रिक अभ्यास गरी सहकारी चलाइनुपर्छ, सहकारी डुबाउनेलाई एक हजार ५ सय रुपैयाँ कारबाही गरेर उन्मुक्ति दिने विद्यमान कानूनी व्यवस्थालाई परिवर्तन गर्न सहकारी ऐन संशोधनको चरणमा छ”, उनले भनिन्– “बचत र लगानीमा मात्र सहकारी सीमित हुँदा जनताको करोडौँ बचत थन्किएकाले उत्पादनमूलक काम गरी आयआर्जन वृद्धि गर्ने गरी नीति निर्माण गरिने छ ।”
मन्त्री बस्नेतले बेरोजगार युवालाई उत्पादनशील काममा लगाई युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउने योजना मन्त्रालयले ल्याउन लागेको जानकारी दिदैं हालसम्म सरकारले ३५ हजार युवालाई प्रतिव्यक्तिदुई लाखका दरले युवा स्वरोजगार कोषबाट रकम उपलब्ध गराएको बताइन्।
दशजना युवाले समूह बनाई दुई लाखका दरले २० लाख लिई उत्पादनमूलक काम गरे रोजगारीका लागि खाडी मुलुकको रापमा सेकिनु नपर्ने बताउँदै उनले मुलुकका २५ जिल्लामा गरिब पहिचान गरी परिचय पत्र वितरणको तयारीमा सरकार रहेको जानकारी दिइन्।
मन्त्री बस्नेत बाँकी ५० जिल्लाका गरिब घरपरिवारको पहिचान पनि छिट्टै शुरु गरिने पनि बताइन्।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकास निर्माणका काम आर्थिक वर्षको अन्तमा शुरु गर्दा विकास बजेट बालुवामा पानी खन्याएजस्तो भएकाले भदौदेखि नै काम गर्न लागिएको जानकारी गराए।
“नगरपालिकामा भदौदेखि नै विकास निर्माणका काम शुरु गरी फागुन मसान्तमै सम्पन्न गर्ने लक्ष्य लिएका छौँ, भदौमै काम शुरु गरी पूँजीगत बजेट फ्रिज हुन नदिने गरी काम गर्छौं”, उनले भने।
कार्यक्रममा काँग्रेस गोकर्णेश्वर नगर समितिका सभापति श्रीकृष्ण ज्योति, काँग्रेस नेता लालबहादुर लामा, नगरपालिका वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुंगाना, नगर समिति सदस्य बालकृष्ण श्रेष्ठलगायतले नगरपालिकाको विकास निर्माणका काम भदौदेखि नै शुरु गरेर आव समाप्त हुने अन्तिम महिना भुक्तानी नदिने गरी नीतिगत व्यवस्था गर्न माग गरे।
सो अवसरमा नगर समितिका तर्फबाट मन्त्री बस्नेत र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, नगर परिषद् सदस्यलाई सम्मान गरिनुका साथै सफल कार्यकालका लागि बधाई ज्ञापन गरिएको थियो । रासस