प्रस्तावित राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य पुग्नबाट रोक्न कमल थापा पक्षले करिव पाँच दर्जन सांसद र केन्द्रीय सदस्यलाई हेटौंडा लगेको छ।
थापा पक्षले पशुपति शम्शेर राणाको पक्षमा ४० प्रतिशत पुग्न रोकेर विभाजित दल दर्ता हुनबाट रोक्ने प्रयास गरिरहेको छ। राणा पक्ष भने जसरी पनि ४० प्रतिशत पुर्याएर दल दर्ता गर्नुपर्ने दबाबमा छ। यसकारण दुवै पक्षबीच केन्द्रीय सदस्य र सांसद तानातान उत्कर्षमा पुगेको छ।
सांसदसहित केन्द्रीय समितिका करिब ६० जनालाई थापाले हेटौंडा लिएर गएको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई बताए।
'हामी करीब ६० जनाजति यहाँ छौं,' हेटौंडामा रहेका ती केन्द्रीय सदस्यले भने, 'हामीलाई केन्द्रीय कार्यसमितिको बैठक भनेर यहाँ बोलाइएको हो।' तर, केन्द्रीय कार्य समितिमै रहेका गणेश थापा, बुद्धिमान तामाङलगायत केही नेता भने काठमाडौंमै छन्।
निर्वाचन आयोगले ४० प्रतिशत केन्द्रीय सदस्यलाई आयोगमा उपस्थित गराएर प्रमाणिकरण गर्न राणा समूहलाई आइतबार बिहान ११ देखि बेलुका ५ बजेसम्मको समय दिएको थियो।
कानुनत: पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन जरूरी छ। आयोगले राप्रपाको १५६ सदस्यीय केन्द्रीय समितिलाई मान्यता दिएको छ, यसको ४० प्रतिशत अर्थात् ६३ केन्द्रीय सदस्यको साथ आवश्यक पर्छ। राणा पक्षले पार्टी दर्ताका लागि निवेदन दिँदा ६३ जनाकै निवेदन दिएको थियो।
निवेदनमा हस्ताक्षर गरेका केन्द्रीय सदस्य प्रल्हाद शाह र लीलादेवी श्रेष्ठ थापा क्याम्पमा फर्किएका छन्। यसले गर्दा राणा पक्षले आइतबार आयोगमा ६३ जना उपस्थित गराउन सकेन।
राणालाई सहयोग गर्ने बचन दिएका निरन्जन विक्रम शाह र दिल विकास राजभण्डारी पनि थापा क्याम्पमा फर्किएको थापा पक्षको दाबी छ।
आइतबार राणालाई ४० प्रतिशत पुर्याउनबाट रोक्न थापाले रणनीतिक रूपमा केन्द्रीय समितिको ठूलो समूह हेटौंडा लिएर गएका हुन्।
थापाको यो कदम थाहा पाएपछि राणा पक्षले अर्को रणनीतिक कदम चाल्यो।
शुक्रबार आयोगले पठाएको पत्र आइतबार मात्रै बुझेको हुँदा यति छोटो समयमा सबै केन्द्रीय सदस्य आयोगमा उपस्थित गराउन नसक्ने जानकारी आयोगलाई दियो। र, थप दश दिन समय माग्यो।
निवेदन र आफ्ना पक्षका अन्य ९ केन्द्रीय सदस्य लिएर राणा हिजो निर्वाचन आयोग गएका थिए।
उनको निवेदनपछि आयोगले ४० प्रतिशत केन्द्रीय सदस्य प्रमाणिकरण गर्ने मिति आउने शुक्रबारका लागि सारिदिएको छ।
नयाँ पार्टी दर्ताका लागि आयोगमा दिएको निवेदनमा हस्ताक्षर गर्ने ६३मध्ये केही सांसद भएपनि केन्द्रीय सदस्य नरहेको र हस्ताक्षर गरेका केही आफ्नो पक्षमा फर्किसकेको हुँदा राणाको पक्षमा ४० प्रतिशत नपुग्ने कमल थापाको दाबी छ।
केही दिनअघिको पत्रकार सम्मेलनमा बोल्दै उनले आनन्दी पन्त, लक्ष्मी थापा पासवान, राज्यलक्ष्मी श्रेष्ठ, रमेशकुमार लामा, गीता सिंह, धानी महरा, बिराज विष्ट र बविना मोक्तान केन्द्रीय सदस्य नरहेको दाबी गरेका थिए।
राणा पक्षले पार्टी फुटाउने अनुमान गरेसँगै थापाले केन्द्रीय समितिमा आफ्नो भारी बहुमत पुर्याउन ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेका थिए। तर मनोनित सदस्यहरू मध्येकै केहीले राणालाई पार्टी विभाजनमा साथ दिएपछि थापा अप्ठ्यारोमा परेका हुन्।
उक्त पत्रकार सम्मेलनमा आफूले मनोनयन गरेका १६ केन्द्रीय सदस्य नै राणाको पक्षमा लागेको थापाले बताएका थिए।
थापाले मनोनित गरेका मध्येबाट बिन्दा गिरी, प्रदीप उदय, दिलिप बस्नेत, उज्वल थापा, रबिन चाम्लिङ, कर्णबहादुर बुढा, किरण गिरी, धर्मराज जोशी, सुरेन्द्र केसी, रोहित राजवंशी र पदम बहादुर बस्नेत राणा पक्षमा छन्।