राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पर्खन भनेपछि संविधान संशोधन विधेयकमा ४ गते मात्रै मतदान हुने भएको छ।
यसअघि संविधान संशोधन विधेयकमाथिको दफावार छलफल सकेर बुधबार नै संसदमा निर्णयार्थ पेश हुने कार्यसूची थियो। एकै दिन छलफल पनि नसकिने र राप्रपा अध्यक्ष थापाले भदौ ४ गतेसम्म पर्खन भनेकोले त्यसपछि मात्रै संशोधन विधेयक निर्णयार्थ पेश गर्ने तयारी भएको राजपाका एक नेताले सेतोपाटीलाई बताए।
निर्वाचन आयोगले राप्रपाबाट विभाजन भएर राप्रपा(प्रजातान्त्रिक) दर्ताका लागि परेको निवेदनमाथि अन्तिम निर्णय भदौ ४ गते गर्ने बताएको छ। सो निर्णयपछि मात्र अाफूहरूले विधेयकको पक्षमा मतदान गर्ने सन्देश थापाले सरकारलाई पठाएका छन्। उनले ४ गतेभन्दा अगाडि निर्णयार्थ पेश भएमा भने राप्रपाले संशोधनका विपक्षमा मतदान गर्ने जानकारी गराएको राजपा नेताले बताए।
राप्रपाको विभाजनका लागि सरकारी पक्षकै संलग्नता रहेकोले राप्रपाले संविधान संशोधनमा सरकारलाई सहयोग गर्ने अवस्था नरहेको राप्रपा प्रवक्ता सुशील श्रेष्ठले बताए।
भदौ ४ गते पार्टीभित्रको विवादको टुंगो लाग्ने भएकोले त्यसपछिको परिस्थितिमा नयाँ निर्णय लिन सकिने जानकारी उनले दिए।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाका अनुसार संविधान संशोधन विधेयकमाथिको छलफल लम्बिएमा निर्णयार्थ पेश हुन केही दिन लाग्न सक्नेछ।
‘छलफलको विषयवस्तु कसरी अघि बढ्छ, त्यसपछि मात्रै थाहा हुन्छ’ उनले भने, ‘सांसदहरु जिल्ला–जिल्ला गएकोले उनीहरु आउने समय ख्याल गरेर निर्णयार्थ पेश हुन्छ।’
यो बीचमा राप्रपाले पनि आफ्नो आन्तरिक समस्या समाधान गरे त्यो सकरात्मक हुने उनले बताए। संशोधन पारित गर्न प्रमुख प्रतीपक्षी एमालेले पनि साथ दिए त्यसको राजनीतिक अर्थ महत्वपूर्ण हुने थापाले बताए।
‘एमाले देशको जिम्मेवार दल हो। मधेस समस्या समाधानका लागि उसले पनि संविधान संशोधनका पक्षमा सहयोग गर्छ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘संविधान संशोधन पारित भयो भने निर्वाचन उत्सव बन्छ र अन्य निर्वाचनको लागि वातावरण पनि बन्छ।’
संविधान संशोधन विधेयक अव संसदमा विचाराधीन नरहेकाले पास वा फेल जे भएपनि निर्णयार्थ पेश हुने उनले बताए।
राजपाका जिम्मेवार नेताहरुले समेत संविधान संशोधन पास वा फेल जे भएपनि निर्वाचनमा जाने प्रतिवद्धता जनाएकोले यसलाई अघि बढाइएको थापाले बताए।