संविधान संशोधनको विधेयकमा आज भएको मतदानमा राप्रपाका १९ सांसदले मतदान गरेका छन्।
पशुपति शम्शेर राणा पक्षले आफ्नो पक्षमा २२ सांसद रहेको दाबी गर्दै आएको थियो। तर, आजको मतदानमा आफ्नो पक्षमा १९ सांसद रहेको कमल थापा पक्षका नेता मोहन श्रेष्ठले बताए। राप्रपाले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।
आज अनुपस्थित हुने सांसदलाई पार्टीले कारबाही गर्ने पनि उनले बताए।
'पार्टीको ह्वीप अनुसार १९ जना सांसदले मतदान गर्नुभएको छ,' नेता श्रेष्ठले भने, 'अनुपस्थित हुनेलाई हामी कारबाही गर्छौं।'
अनुपस्थित सांसदलाई कारबाही, पार्टी विभाजन र सर्वोच्चको आजको फैसलाबारे छलफल गर्न भोलि बिहान पार्टी पदाधिकारी, केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाइएको उनले बताए।
राप्रपाबाट विभाजन भएको राणा पक्षले आफ्नो पक्षमा २२ सांसद भएको दाबी गर्दै आएको थियो। संसद सचिवालयले निर्वाचन आयोगलाई लेखेको पत्रमा भने राणा पक्षमा १९ सांसद रहेको उल्लेख छ।
राप्रपामा ३७ सांसद छन्।