शीर्ष नेताहरू देशबाहिर गएपछि दुई ठूला दल कांग्रेस र एमालेले प्रदेश नम्बर २ मा उम्मेद्वारको टुंगो लगाउन थप समय लाग्ने भएको छ।
दुई नम्बर प्रदेशमा स्थानीय तहको चुनाव नजिकिँदै गए पनि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको विदेश भ्रमणले उम्मेद्वारबारे निर्णय गर्न ढिलाइ भएको हो।
औपचारिक भ्रमणका क्रममा बुधबार भारत गएका प्रधानमन्त्री देउवा आइतबार मात्रै स्वदेश फर्किँदैछन्। देउवा आएपछि मात्रै मधेशका कतिपय स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सार्वजनिक गर्ने तयारीमा कांग्रेस छ।
१ सय ३६ मध्ये अधिकांश स्थानीय तहका उम्मेद्वारको नाम टुंगो लागिसके पनि औपचारिक घोषणा गर्न बाँकी रहेको कांग्रेस नेता रमेश लेखकले सेतोपाटीलाई बताए।
उनले भने, 'कतिपय उम्मेदवारको नाम टुंगो लागेको छ। केही ठाउँमा बाँकी छ। पार्टीले केही दिनमै टुंगो लगाएर सार्वजनिक गर्छ।'
कांग्रेसले सिराहा, सप्तरी, महोत्तरी र सर्लाहीका सबै स्थानीय तहका उम्मेद्वारको नाम टुंगो लगाइसकेको छ।
बाँकी जिल्लाका उम्मेद्वारबारे अहिले कांग्रेस नेतृत्वमाझ छलफल चलिरहेको छ।
केही मुख्य शहरमा भने पार्टी सभापति देउवा फर्किएपछि निर्णय गर्ने तयारी भइरहेको कांग्रेस स्रोतले जनाएको छ।
यता, आजै एमाले अध्यक्ष केपी शर्मा ओली थाइल्याण्ड जाने भएपछि एमालेका उम्मेदवारबारे निर्णयमा पनि ढिलाइ भएको छ।
दुई नम्बर प्रदेशका एक सयभन्दा बढी स्थानीय तहका प्रमुख/अध्यक्षबारे निर्णय गरिसकेको एमालेले अब लगभग ३० वटा स्थानीय तहबारे निर्णय गर्न बाँकी रहेको प्रदेश कमिटीका सहसंयोजक नागेन्द्र चौधरीले बताए।
बाँकी रहेका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवारबारे भदौ १५ गतेभित्र निर्णय गर्ने उनले बताए।
एमालेमा महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखको नाम स्थायी समितिले टुंगो लगाउँछ। नगरपालिकाका प्रमुख र उपप्रमुख एवम् गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको नाम भने प्रदेश कमिटीले नै टुंगो लगाउँछ।
१३६ मध्ये अधिकांश ठाउँका उम्मेदवारबारे यसअघि नै प्रदेश कमिटीले निर्णय गरिसकेको छ। बाँकी रहेका ३० मध्ये पनि अधिकांश स्थानका उम्मेदवारबारे सहमति भइसकेको सहसंयोजक चौधरीले बताए।
'हामीले लगभग टुंगो लगाइसकेका छौं,' उनले भने, 'अब स्थायी समितिले निर्णय गर्नुपर्ने महानगर र उपमहानगरका उम्मेदवारसँगै नाम सार्वजनिक गर्छौं।'
यो प्रदेशका एक महानगर र तीन उपमहानगरबारे स्थायी समिति निर्णय गर्नु पर्नेछ। अध्यक्ष ओली आज बैंकक गएकाले उनी फर्किएपछि मात्रै यसबारे स्थायी समितिले निर्णय गर्नेछ। अध्यक्ष ओली बैंककबाट भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ।
'अध्यक्षज्यू फर्किएफछि १५ गतेभित्रमा स्थायी समितिले यी ठाउँका उम्मेदवारबारे निर्णय गर्छ,' उनले भने, 'अनि प्रदेश समितिले निर्णय गरेका उम्मेदवारका नाम पनि एकसाथ सार्वजनिक गर्छौं।'
स्थायी समितिले वीरगञ्ज महानगरपालिकासहित जिपुर-सिमरा, कलैया र जनकपुर उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखबारे निर्णय गर्ने छ।
स्थायी समितिले निर्णय नगरेपनि वीरगञ्जमा बसरूद्धिन अन्सारी प्रमुखमा उठ्ने निश्चित भइसकेको चौधरीले बताए।
जनकपुरमा भने जिल्ला कमिटीले १० जनाको नाम सिफारिस गरेको छ। अहिले प्रदेश समितिले छलफल गरिरहेको र एकदुई दिनमा सिफारिस भएका दशमध्ये तीन जनाको नाम स्थायी समितिमा पठाउने उनले जानकारी दिए।
जितपुर-सिमरामा ४ जना र कलैयामा ३ जनाको नाम प्रदेश समिति समक्ष सिफारिस भएको उनले बताए।
'यी नामहरूमध्ये सकेसम्म सर्वसम्मत बनाएर हामी स्थायी समितिलाई सिफारिस गर्छौं,' उनले भने, 'स्थायी समितिले यसबारे १५ गतेभित्र निर्णय गर्छ। र, १५ गते हामी एकसाथ बाँकी उम्मेदवार सार्वजनिक गर्छौं।'
दुई नम्बर प्रदेशमा असोज २ गते स्थानीय तहको निर्वाचन हुँदै छ। दुई गते हुने मतदानका लागि भदौ २१ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ।