निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिकका पक्षमा रहेका भनेका ९ जना केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको कमल थापाले बताएका छन्।
९ केन्द्रीय सदस्यलाई साथमा लिएर गरेको पत्रकार सम्मेलनमा पशुपति शम्शेर राणाको पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य नपुग्ने दाबी गरे।
पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रीय सदस्यहरू प्रल्हाद शाह, बिन्दा गिरी, राजेश्वरीदेवी शाह, सविना शाह, भिमसेन गुरूङ, रेणु शाह, निरन्जन थापा, दिलविकास राजभण्डारी र लीलादेवी श्रेष्ठ राणालाई समर्थन नगरेको बताए।
पत्रकार सम्मेलनमा भिमसेन गुरूङबाहेक ८ जना नै उपस्थित भएका थिए। निर्वाचन आयोगले गरेको निर्णयमा भने यी ९ जनाको नाम पशुपति शम्शेर राणाको पक्षमा छ। निर्वाचन आयोगले यी ९ नामसमेत राखेर राणाको पक्षमा ६६ केन्द्रीय सदस्य रहेको जनाएको छ।
तर अब राणाको पक्षमा ५७ जना मात्रै रहेको र राप्रपा प्रजातान्त्रिकको पक्षमा ४० प्रतिशत नपुगी निर्वाचन आयोगले हचुवाको भरमा दर्ता गरिदिएको आरोप थापाले लगाए।
१५६ सदस्यीय केन्द्रीय समितिको ४० प्रतिशत पुग्न राणा पक्षमा कम्तीमा ६३ केन्द्रीय सदस्य हुनु जरूरी छ। निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिकमा १७ जना सांसद रहेको भनी उल्लेख गरेका मध्ये २ जना आफ्नो पक्षमा रहेको थापाले बताए। केन्द्रीय सदस्यसमेत रहेका सांसदहरू राजेश्वरी देवी शाह र लीलादेवी श्रेष्ठ थापाको पक्षमा रहेका हुन्।
निर्वाचन आयोगले उनीहरूको नाम राप्रपा प्रजातान्त्रिकको सूचीमा राखेको छ।