व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति अन्तर्गतको उपसमितिले नेपाल आयल निगमले चितवनमा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गरेको छ।
उपसमितिका संयोजक सुवासचन्द्र शाह ठकुरी नेतृत्वको टोलीले बिहीबार चितवनको राप्ती नगरपालिका लोथर पुगी जग्गाको निरिक्षण गरेको हो ।
स्थलगत निरिक्षणको क्रममा टोलीले जनप्रतिनिधी, स्थानियबासी र सरोकारवालाहरुसँग जग्गाको वास्तविक मूल्यको बिषयमा जानकारी समेत लिएको छ । नेपाल आयल निगमले इन्धन भण्डारणका लागि मुलुकका विभिन्न स्थानमा गरेको जग्गा खरिदमा आर्थिक चलखेल भएको विषय समितिमा प्रवेश भएपछि समितिले त्यसको छानविन गर्न उपसमिति गठन गरेको थियो ।
आयल निगमले खरिद गरेको जग्गामा अनियमितता भए नभएको छानविनका लागि उपसमितिले स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा जग्गाको मुल्यमा एकरुपता नपाईएको र जग्गा प्राप्ती ऐन विपरित भएको प्रारम्भीक ठहर उपसमितिले गरेको छ ।
नेपाल आयल निगमले राप्ती नगरपालिकाको वडा नं. १ लोथर ड्याकको आडमा २३ बिघा १२ कठ्ठा जग्गा प्रति कठ्ठा १५ लाख ८५ हजार रुपैयाँका दरले खरिद गरेको थियो । स्थानीयबासी तथा त्यहाका जनप्रतिनिधिले यो मूल्य चलनचल्तीको भन्दा निकै बढी भएको बताउदै आएका छन् ।