नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर दुईका उम्मेदवारको टुंगो लगाउन अझै केही समय लगाउने भएको छ।
संविधान संसोधन विधेयक संसदबाट पास गराउने विषय र तराईका जिल्लामा आएको बाढी र डुबान समस्याले केही ढिलाई भएको भन्दै कांग्रेसले भदौ दोश्रो साता भित्र सबै उम्मेदवारको नाम टुंगो लगाउने तयारी गरेको छ ।
सोही तयारीमा पार्टीका कार्यवहाक सभापति बिमलेन्द्र निधीले सनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदेश नम्बर दुईका सांसद, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिसंग संयुक्त छलफल गरेका छन् । उम्मेदवारको टुंगो सहमतिबाट नै लगाउने प्रयासमा निरन्तर छलफल भईरहेको भन्दै उनले २१ गते अगावै टुंगोमा पुगिने बताए। उनले ७० प्रतिशत उम्मेदवारको टुंगो लागेको र बाँकी ३० प्रतिशतमा सहमति जुटाउने प्रयास भईरहेको जानकारी दिए।
यसअघि कांग्रेसले साउन मसान्त सम्म सबै उम्मेदवारको नाम टुंगो लगाउने बताएको थियो । कार्यवहाक सभापति निधिले प्रदेश नम्बर २ का सिरहा, सप्तरी, सर्लाही र महोत्तरीका जिल्लाको छलफल सकिएको तथा बाँकी रहेका धनुषा, बारा, पर्सा र रौतहट जिल्लाको छलफल सकेपछि उम्मेदवारीको निर्णय गरिने जानकारी दिए।
उम्मेदवार चयन सही नभएका कारण स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचनमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको भन्दै पार्टी भित्रै आलोचना भएपछि कांग्रेसले यसपटक पर्याप्त छलफल गरि उम्मेदवारको टुंगो लगाउन लागेको हो । स्थानीय तहको तेश्रो चरण अन्र्तगत प्रदेश नम्बर २ मा आगामी असोज २ गते निर्वाचनको मिति तोकिएको छ ।