नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी ) को २१ औं राष्ट्रिय सम्मेलनमा विघटित कमिटीका अध्यक्ष नरेन्द्र नयौपानेद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र विधान मस्यौदा प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।
यस लगत्तै अब निवाचन समितिले नेतृत्व चयन प्रकृया अघि वढाउनेछ। आज मतदाता नामावली प्रकाशित हुनेछ र भोलि निर्वाचन हुनेछ ।निर्वाचनमा कुल २०३४ मतदाता रहेका छन्।
कीर्तिपुरमा जारी तेस्रो दिनको बन्द सत्रमा विभिन्न २१ वटा समुहका टोली नेताले राखेका सुझाव र धारणाको जवाफ अध्यक्ष न्यौपानेले दिएपछि हलले सर्वसम्मतिले पारित गरेको थियो।
क्रान्तिकारीको सम्मेलनमा नेतृत्वका लागि उमेरहदको चर्को वहस भएपनि अन्तत: तत्काल उमेरहद नलगाउने निर्णय भएको निवर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए। बस्नेतले आगामी एकवर्षमा विधान सम्मेलन गरि उमेरहद लगायत समग्र सांगठनिक संरचनावारे छलफल गरि टुंगो लगाउने जानकारी दिए।
पारित प्रतिवेदनमा अखिल (क्रान्तिकारी)ले स्थापना कालदेखि उठाउंदै आएको जनवादी शिक्षाको चरणवाट अब समाजवादी शिक्षा प्राप्तिमा कार्यदिशा तय गरिएको छ।संशोधित विधान अनुसार अब क्रान्तिकारीको ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ।