उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले मंसिर १० गते हुने केन्द्र र प्रदेश निर्वाचनमा जुट्न गोरखाका नेपाली काँग्रेसका कार्यकर्तालाई आग्रह गरेका छन्।
काँग्रेस गोरखाले आज सदरमुकाममा आयोजना गरेको जनप्रतिनिधि सम्मान कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा जस्तै केन्द्र र प्रदेश निर्वाचनमा पनि पार्टीको वर्चश्व कायम राख्न निर्देशन दिए।
उपप्रधानमन्त्री श्रेष्ठले भने, “तोकिएको समयमै केन्द्र र प्रदेशको निर्वाचन हुन्छ । निर्वाचन एकै चरणमा हुन्छ । नभए हिमाली र पहाडी भेगमा पहिलो र दोस्रो चरणमा तराईमा निर्वाचन हुन्छ । निर्वाचनका लागि तयारीमा जुट्नुहोस् ।” स्थानीय, प्रदेश र केन्द्र निर्वाचनले मात्रै संविधान कार्यान्वयन हुने उनले बताए।
मुलुकमा देखिएका समस्या समाधान गर्न काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लगायत मुख्य दल एक भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
यसैबीच उपप्रधानमन्त्री श्रेष्ठले प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । मन्दिर जीर्णोद्धारमा देखिएका समस्याबारे मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठसँग उनले जानकारी लिएका थिए।
मन्दिर जीर्णोद्धारको काम करिब ८५ प्रतिशत सकिएको बताउँदै संयोजक श्रेष्ठले छानामा सुनको जलप लगाउन करिब १२ किलोग्राम सुन आवश्यक परेको बताए । मन्दिर जीर्णोद्वार गर्न सरकारले चार करोड दिएको थियो । रासस