नेकपा एमालले स्थानीय चुनावका लागि दुई नम्बर प्रदेशका एक सय १६ स्थानीय तहमा मेयर वा अध्यक्षका उम्मेदवार छानेको छ।
२ नम्बर प्रदेशका एक सय ३६ मध्ये अब २० वटा स्थानीय तहका मेयर वा अध्यक्षबारे निर्णय गर्न बाँकी रहेको एमाले दुई नम्बर प्रदेश कमिटीका सहसंयोजक नागेन्द्र चौधरीले सेतोपाटीलाई जानकारी दिए।
'एक सय ३६मध्ये एक सय १६का प्रमुख वा अध्यक्षबारे प्रदेश समितिले निर्णय गरिसकेको छ,' उनले भने,'अब २० वटाको बाँकी छ।'
२० वटामध्ये केही स्थानका उम्मेदवार प्रदेश समितिले नै निर्णय गर्ने छ।
नगरपालिका र गाउँपालिकाका प्रमुख वा अध्यक्षको उम्मेदवारबारे प्रदेश समितिले निर्णय गर्ने र महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे स्थायी समितिले निर्णय गर्ने कार्यविधि बनाएको छ।
स्थायी समितिले निर्णय गरेपछि एक साथ एक सय ३६ स्थानीय तहका उम्मेदवारको नाम सार्वजनिक गरिने चौधरीले बताए।
१५ गते स्थायी समिति बैठक बस्ने तयारी भइरहेकाले सम्भव भएसम्म १५ गते नै यी सबै नाम सार्वजनिक गरिने उनले बताए।
दुई नम्बर प्रदेशमा एक महानगर र तीन उपमहानगरपालिका छन्। यी सबै स्थानका मेयरबारे स्थायी समितिले निर्णय गर्नुपर्ने छ। यसबाहेक प्रदेश कमिटीले टुंगो लगाउन नसकेका नगरपालिका वा गाउँपालिकाका स्थानीय तहका उम्मेदवारबारे पनि स्थायी समितिले नै निर्णय गर्ने छ।
दुई नम्बर प्रदेशको एक्लो महानगर वीरगञ्जमा बसरूद्धिन अन्सारी उम्मेदवार बन्ने निश्चित भइसकेको छ।
'स्थायी समितिले औपचारिक निर्णय गर्न मात्रै बाँकी छ,' चौधरीले भने, 'वीरगञ्जमा उहाँ नै एमाले उम्मेदवार हो।'
जनकपुर, कलैया र जितपुर-सिमरा उपमहानगरपालिकाका उम्मेदवारबारे भने अझै निर्णय भइसकेको छैन। यहाँका उम्मेदवारबारे सम्बन्धित जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरिसकेका छन्। अब प्रदेश कमिटीले सिफारिस गरी निर्णयका लागि स्थायी समितिमा पठाउने सहसंयोजक चौधरीले जानकारी दिए।
जनकपुरको मेयरका लागि धनुषा जिल्ला कमिटीले १० जनाको नाम सिफारिस गरेको छ। जसमध्ये लक्ष्मीनारायण भगत, दिपेन्द्र यादव र श्याम पूर्वे साहको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष राजकिशोर यादवले सेतोपाटीलाई जानकारी दिए।
वरिष्ठता र पार्टीमा पहुँच दुबै दृष्टिकोणमा भगत बलिया दाबेदार हुन्। अवकासप्राप्त कर्मचारी भगत कर्मचारी युनियन र पेशागत महासंघमा सक्रिय थिए।
दिपेन्द्र यादव भने गत सालमात्रै एमाले प्रवेश गरेका हुन्। उनी अहिले युवा संघमा छन्। श्याम पूर्वे साह पार्टीका पुराना कार्यकर्ता हुन्। उनी अहिले जिल्ला कमिटीको सचिवालय सदस्य छन्।
बाराका दुई उपमहानगरमध्ये कलैया र जितपुर-सिमरामा ४-४ जनाको नाम सिफारिस भएको जिल्ला अध्यक्ष सुन्दर विश्वकर्माले जानकारी दिए। उनका अनुसार जिल्ला सदरमुकाम कलैया उपमहानगरपालिकाको मेयर उम्मेदवारको दौडमा महम्मद समी उल्लाह,सुरेश मदक,ध्रुव यादव र बिनोद साह छन्। समी उल्लाहको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरिएको विश्वकर्माले बताए। उल्लाह एमाले जिल्ला कमिटी सचिव हुन्।
जिल्ला कमिटीका उपाध्यक्ष देवनारायण चौधरीको नाम भने जितपुर-सिमराको मेयरका लागि सिफारिस भएको छ। उनको नामलाई पहिलो नम्बरमा राखेर ४ जनाको नाम सिफारिस गरिएको हो। चौधरीपछि मनोज पौडेल, भरत खड्का र कृष्ण पौडेल सिफारिसमा परेका छन्।
सप्तरीको राजविराज नगरपालिकाको मेयरमा सुखराम चौधरीले टिकट पाएका छन्। उपमेयरको टिकट भने ममता चौधरीले पाएकी छन्।
बैंकको जागिरको अनुभव संगालेका सुखराम यादव संघीय समाजवादी फोरममा थिए। उनी गत जेठमा मात्रै फोरम छोडेर एमाले प्रवेश गरेका हुन्।
सुखरामलाई उम्मेद्वार बनाएर एमालेले मधेस आन्दोलन र एमालेको मेचीकाली अभियानका बेला भएको घटनाको जवाफ दिने प्रयास पनि गरेको छ। उनलाई उम्मेद्वार बनाएपछि एमाले थप बलियो भएको र चुनावको तयारी गर्न सहज भएको सप्तरी जिल्ला कमिटीका अध्यक्ष गोविन्द न्यौपानेले बताए।
सिराहाको सदरमुकाम सिराहा नगरपालिकाको टिकट भने डा.नवीन यादवले पाएका छन्। उनी एमालेका पूर्वसांसद हेमनारायण यादवका छोरा हुन्।
सांसद २०६० सालमा धनगढीमा भएको पार्टीको कार्यक्रमबाट फर्कने क्रममा उनका बुवा बेपत्ता भएका थिए। केही दिनपछि उनको शब भेटिएको थियो। उनलाई नेपाली सेनाले बेपत्ता बनाएको प्रमाण भेटिएकाले सेनाले नै हत्या गरेको एमालेको निष्कर्ष छ।
उनका छोरा डा.नवीन यादव एमाले छोडेर मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक)मा गएका थिए। केही समयअघि उनी एमाले फर्किएका हुन्।
सिराहाको अर्को नगर लहानमा एमालेले मुन्नी साहलाई मेयरको उम्मेदवार बनाएको छ। उनी २०५४ सालको स्थानीय निर्वाचनमा पनि एमालेबाट यहाँको मेयरमा निर्वाचित भएका थिए।
बीचमा केही समय माओवादीमा गए पनि केही समयअघि उनी एमाले फर्किएका हुन्।
अर्को नगर मिर्चैयाको मेयरमा प्रदीप महासेठाले टिकट पाएका छन्। महासेठ जिल्ला कमिटीका सचिवालय सदस्य हुन्।
सर्लाही सदरमुकाम मलङ्वा नगरपालिकाको मेयरमा देवेन्द्र यादवलाई एमालेले अघि सारेको छ।
सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरको टिकट मान बहादुर खड्काले पाएका छन्। यस्तै, बाग्मती नगरपालिका राजघाटका पूर्वअध्यक्ष विष्णु पुलामी र हरिवन नगरपालिकामा गणेश प्रसाईंले मेयरको टिकट पाएका छन्।
रौतहट सदरमुकाम गौरमा भने शम्भु साहको नाम अघि सारिएको छ। उनी एमाले गौर नगर कमिटीका सदस्य हुन्। रौतहटको अर्को महत्वपूर्ण नगरपालिका चन्द्रनिगाहपुरमा एमालेले युवा उम्मेद्वार बाबुराम दाहाललाई अघि सारेको छ। उनी युवा संघको पृष्ठभूमिबाट आएका हुन्।