राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो दल विभाजनका क्रममा प्रयोग गरिएका केही कीर्ते दस्तखतको छानबिन माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता गराएको छ ।
पार्टीका नेता सुशीलकुमार श्रेष्ठको नेतृत्वमा केन्द्रीय सदस्यहरु दिल विकास राजभण्डारी, सविनासिंह शाह र निरञ्जन थापासहित अदालत गएको प्रतिनिधिमण्डलले कीर्ते हस्ताक्षरलाई आधार बनाएर दल विभाजन गरिएकाले त्यसको खारेजीका लागि रिट दर्ता गराएका प्रवक्ता भूवन पाठकले जानकारी दिए।
पार्टीका नेतालाई अन्य प्रयोजनका लागि गराइएको हस्ताक्षर दुरुपयोग गरी आवश्यक दस्तखत पु¥याउन ती हस्ताक्षर देखाएर दल विभाजन गरिएको पार्टीले जनाएको छ । गत साउन २२ गते सोही पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले दल विभाजनका लागि आवश्यक सङ्ख्या आफ्नो पक्षमा रहेको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए।
निर्वाचन आयोगले सो निवेदन प्राप्त गरेपछि पुनः दस्तखतका लागि दुईपटक समय तोकेको भएपनि अदालतको आदेशका कारण राणा समूहको राप्रपा (प्रजातान्त्रिक) लाई दर्ता गरेको थियो । रासस