नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारीको मनोनयन दर्ता गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए। नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराएका छन् । मनोनयन दर्तासँगै क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ।
मल्लका अनुसार ३३ पदाधिकारीसहित २४३ पदका लागि करिब ३०० ले उम्मेदवारी दर्ता गराएका छन्। नयाँ नेतृत्वका लागि मंगलबार निर्वाचन हुनेछ । क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन बुधबारदेखि चले पनि सहमतिमा नेतृत्व चयन हुन नसक्दा लम्बिएको हो ।
आइतबार सकाउने भनिएको सम्मेलन सहमति गर्दा लम्बिएको अध्यक्ष नरेन्द्र न्यौपानेले बताए। उनका अनुसार सम्मेलन लम्बिँदा आज १० लाख रुपैयाँ थप खर्च भएको छ । सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी छन् । रासस