विराटनगरबाट सोमबार राति १० बजे बास बस्न जनकपुर आइपुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार बिहानै मर्निङ वाकमा निस्किए।
ट्रयाकसुटमा दुई किलोमिटर लम्किएपछि प्रचण्डलाई स्थानीयले रोके।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई देखेपछि स्थानीयले चिया पिउन आग्रह गरे। मुस्लिम बस्तीमा रोकिएका प्रचण्डले चिया पिए।
स्थानीयले गुनासो गरे- मधेसको विकास भएन। मुस्लिमलाई कसैले हेरेन।
सँगै मर्निङ वाकमा गएका प्रचण्ड पुत्र प्रकाश दाहालका अनुसार माओवादी अध्यक्ष आँगनमै देखेपछि स्थानीय 'सरप्राइज' भए। 'कोही पनि नेता हिँडेर गाउँ नआएको भन्दै उत्साही भए, एकैछिनमा टोल नै जम्मा भयो', प्रकाशले सेतोपाटीसँग भने, 'चुनाव के हुन्छ? भन्ने जिज्ञासा धेरैको थियो।'
चुनावी प्रचारप्रसार गर्न मधेसमा सक्रिय रहेका प्रचण्डले पनि मुस्लिम र उत्पीडितको अधिकारको पक्षमा माओवादी रहेको बताउन भुलेनन्।
बिहानै मर्निङ वाकमा निस्किएका प्रचण्ड अहिले प्रदेश नं २ को १३६ स्थानीय तहमा उम्मेद्वार टुङ्ग्याउने कसरतमा छन्। प्रकाशका अनुसार प्रचण्ड अझै दुई दिन मधेसमा रहनेछन्।
माओवादीले आज वा भोलिसम्ममा प्रदेश नं २ को उम्मेद्वार टुङ्गो लगाउनेछ। असोज २ गते तोकिएको स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको कमाण्ड प्रचण्ड आफैँले सम्हालिरहेका छन्।
त्यसो त माओवादीका अधिकाशं नेताहरू अहिले मधेसमै छन्। सिराहा- ५ बाट निर्वाचित प्रचण्ड बाढीपछि राहत वितरण गर्न समेत मधेस झरेका थिए।
राजधानी आएका बेला समेत उनले मधेसमा माओवादीको पक्षमा लहर आएको बताएका थिए। साथै राजपाबाट धेरै नेता माओवादी पक्षमा आउन लागेको बताएका थिए।
'मधेसमा माओवादीको पक्षमा लहर आउँदैछ', प्रचण्डले भनेका थिए। निर्वाचनको ठीकअघि एमालेबाट माओवादी हुँदै नयाँ शक्ति पुगेका रामचन्द्र झा माओवादी फर्किसेका छन्।
त्यस्तै अघिल्लो निर्वाचनमा माओवादीबाट छुट्टिएका मातृका यादव पनि माओवादी जिताउन प्रदेश २ मा सक्रिय छन्। असन्तुष्ट मधेस केन्द्रीत दलहरूलाई संसद फर्काउनेदेखि संविधान संशोधनको प्रस्ताव दर्ता गरेर माओवादी मधेसमा आफ्नो पक्षमा माहोल बनाइरहेको छ।
'स्थानीय पनि अहिले माओवादीले ‘लिड’ गरे हुन्थ्यो। हाम्रो अधिकार सुरक्षित हुन्थ्यो भनिरहेका छन्', जनकपुरको मर्निङ वाकमा स्थानीयको कुराकानी उल्लेख गर्दै उनले भने।
मधेस केन्द्रीत दल र कांग्रेससँग तामलेको विषयमा समेत प्रचण्डले जनकपुरबाटै निर्णय लिने तयारी गरिरहेका छन्। 'तामलेलको बहस पनि जारी छ, तर टुङ्गिसकेको छैन', प्रकाशले भने।