उद्योगी विजयकुमार सरावगीलाई संघीय समाजवादी फोरम नेपालले वीरगञ्जको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ।
सरावगी वीरगञ्जमा समाजसेवीका रुपमा समेत चिनिन्छन्। वीरगञ्जका धार्मिक संस्था, विद्यालय निर्माण लगायतमा उनले सहयोग गरेका छन्।
गत चैत ६ गते सरवगी फोरममा प्रवेश गरेका हुन्। यसअघि उनी कांग्रेसको राजनीतिमा सक्रिय थिए। अहिले उनी संघीय फोरमको प्रदेश २ का कोषाध्यक्ष हुन्।
सेतोपाटीसँगको कुराकानीमा सरावगीले मधेसीको आत्मसम्मानकै लागि कांग्रेस छोडेर फोरम प्रवेश गरेको बताए। बन्द हड्तालको राजनीतिक तगारोले वीरगञ्ज विकास हुन नसकेकाले विकासकै लागि उम्मेदवार बनेको उनले बताए।
'वीरगञ्जमा राजनीतिककै कारण जीवनयापनमा समेत असर पर्यो, अझसम्म विकास हुन सकेन', सरावगीले भने, 'वीरगञ्जको विकास मेरो पहिलो योजना हो।'
वीरगन्जका पुराना व्यापारी चिरंजीवी सरावगीका छोरा उनी 'सरावगी ग्रुप अफ इण्डस्ट्रिज'का अध्यक्ष हुन्। उनका बाबु पनि धेरै पहिले नगरपञ्चायतको प्रधानपञ्चमा उठेका थिए। उनी पराजीत भए।
यो व्यापारिक घरानाले विभिन्न उत्पादन गर्दै आएको छ। सरावगीको खाद्य तथा पेय पदार्थ, प्लास्टिक र मेसेनरी सम्बन्धी उद्योग छ। उनले रियल स्टेटमा समेत लगानी गर्दै आएका छन्। सरावगी नितान्त व्यापारीक पृष्ठभूमीबाट आएका हुन्। उनी यस अघि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस्य समेत हुन्। उनी वीरगञ्जको उद्योग वाणिज्य महासंघका सभापति समेत भैसकेका छन्।
संघीय फोरमले वीरगञ्ज उपमेयरमा पिंकीदेवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।