निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु सिंहलाई मोटरसाइकल र्याली निकालेकोमा स्पष्टिकरण मागेको छ।
सिंहको नेतृत्वमा १०० वटा मोटरसाइकलमा झण्डै २०० को संख्यामा महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ५ मा प्रचारप्रसार र्याली निकालेकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको हो।
आयोगले नेता सिंहलाई 'निर्वाचन आचार संहिता उल्लंघन गरेको उपर कारवाही गर्नुपर्ने हो कि होइन', भनेर सोधेको छ।
सिरहाको गोलबजार नगरपालिकामा एमालेका मेयर उम्मेदवारका प्रत्यासी श्याम श्रेष्ठलाई पनि आयोगले र्याली निकालेकोमा २४ घण्टे स्पष्टिकरण सोधेको छ।
गोलबजार वडा नं. ७ पुरानो चोहर्वास्थित बुद्धचोकबाट श्रेष्ठले करिब १०० वटा मोटरसाइकल, चारवटा ट्रयाक्टर, पाँचवटा स्करपियो गाडीसहित झण्डै साढे दुई सय जनाको र्याली निकालेका थिए।