पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण मागेको छ। पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई प्रचारप्रसारमा संग्लन भएको भन्दै आयोगले नेता नेपाललाई स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो।
आगामी असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचन प्रचारप्रसारमा वीरगञ्ज पुगेका नेता नेपालले सोमबार घरदैलो कार्यक्रम गरेका थिए। कार्यक्रममा उनले सूर्य अंकित टोपी लगाएको उजुरी आयोगमा परेको थियो।
प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले नेता नेपाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो।
आयोगको निर्णयमा 'निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनाव चिन्ह अंकित टोपी लगाई चुनावी प्रचारप्रसारमा संलग्न पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता श्री माधवकुमार नेपाल तथा नेकपा एमालेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेउपर कारबाही किन नगर्ने भन्ने सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने’ भनिएको छ।