उत्तर कोरियाले मंगलबार बिहानै जापानी क्षेत्रमा गरेको क्षेप्यास्त्र प्रहारलाई आफ्नो सैन्य कारवाहीको ‘पहिलो कदम’ बताएको छ।
यसलाई अमेरिकी भूभाग गुआममा गरिने सैन्य कारवाहीको पहिलो चरण भन्दै उत्तर कोरियाले बुधबार यस्तो चेतावनी दिएको हो।
कोरियाले थप क्षेप्यास्त्र प्रहार गर्ने योजना बनाइरहेको विश्लेषकहरुले अड्कल काटेका छन्।
अमेरिकी समाचार संस्था सिएनएनका अनुुसार उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले ‘क्षेप्यास्त्र परीक्षणबाट एकदमै सन्तुष्ट’ भएको टिप्पणी गरेका छन्।
सरकारी मिडिया कोरियन सेन्ट्रल न्यूज एजेन्सीलाई उदृत गर्दै सिएनएनले भनेको छ ‘कोरियाली सेना गुआम कारवाही गर्ने योजनाबाट पछाडि हट्नेवाला छैन।’
यो बयानसँगै कोरियाले गुआम क्षेत्रमा आक्रमणको धम्की दोहोर्याएको हो।
मंगलबार बिहानै जापानको हकाइदो टापूको आकाशमार्ग हुँदै कोरियाले प्रशान्त महासागरमा क्षेप्यास्त्र परीक्षण गरेको थियो। करिब तीन सय किलोमिटर पर पुगेको क्षेप्यास्त्र प्रहारबाट स्थानीय तर्सेका थिए। क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सूचना साइरन बजेको थियो। स्थानीयलाई भूँइतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो।
क्षेप्यास्त्र तीन टुक्रा भएर पड्केको थियो।
जापानले सुरक्षा चुनौतीका कारण क्षेप्यास्त्र ध्वस्त पार्न कुनै प्रयास नगरेको भए पनि कोरियाको हर्कत एकदमै गलत भएको बताएको छ। उसले आफ्ना नागरिकको सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताएको थियो।
घटनालगत्तै जापानी प्रधानमन्त्री सिन्जो आबेले यो क्षेप्यास्त्र परीक्षण अनौठो, गम्भीर र खतरनाक चेतावनी भएको बताउँदै आकस्मिक बैठक बोलाउन संयुक्त राष्ट्र संघलाई आव्हन गरेका थिए।
संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालीन बैठकले यसको भर्त्सना गरेको थियो। परिषदले विज्ञप्ति जारी गर्दै कोरियालाई थप क्षेप्यास्त्र प्रहार नगर्न र आणविक हतियार कार्यक्रम रोक्न भनेको थियो।
क्षेप्यास्त्र परीक्षणको प्रतिक्रिया दिदैं मंगलबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ‘अब उत्तर कोरियाविरूद्ध सबै विकल्प खुल्ला’ रहेको बताएका थिए। ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उत्तर कोरियाली सरकारले तर्साउने र अस्थिरता निम्त्याएको उल्लेख थियो। यो विश्व समुदायबाट एक्लिने गतिविधि बाहेक अरु केही नभएको पनि विज्ञप्तिमा थियो। यी सबका कारण अब कोरियाविरूद्ध सबै विकल्प खुला रहेको ट्रम्पले बताएका थिए।
यसैको जवाफस्वरुप कोरियाले बुधबार उक्त परीक्षण गुआम कारवाहीको पहिलो कदम भएको प्रतिक्रिया दिएको हो।
घरेलु क्षेप्यास्त्र ‘ह्वासङ–१२’ गुआममा प्रहार गर्ने योजना कोरियाले पहिलेदेखि बताउँदै आएको छ। १०६५ सेकेण्ड अर्थात् करिब १८ मिनेटमा ३ हजार ३ सय ५६ किलोमिटर दूरी पार गर्ने उक्त क्षेप्यास्त्र गुआम पुग्न १४ मिनेट लाग्ने बताइएको छ।
राष्ट्रपति उनले यसअघि धेरै मिसाइल परीक्षण गरेका भएपनि यो मार्गमा पहिलो पटक गरेका हुन्।
अमेरिकासँगको तनावका कारण उसको क्षेत्र गुआम हमला गर्ने चेतावनी दिदैं आएको कोरियाले अहिले त्यही मार्गमा क्षेप्यास्त्र प्रहार गरेको हो।
गुआम करिब १ लाख ६३ हजार जनसंख्या भएको टापू हो जहाँ अमेरिकी सेनाको हवाई अड्डा र करिब ६ हजार सेना छन्।
अमेरिकाबाट ११ हजार किलोमिटर टाढा गुआम फिलिपिन्स र अमेरिकी राज्य हवाइको बीचमा पर्छ। उत्तर कोरियाबाट भने यो टापू ३ हजार ४ सय ३० किलोमिटरको दूरीमा छ।
यो टापूको सामरीक महत्व छ। यहाँस्थित हवाई अड्डाको पहुँच साउथ चाईना सी, कोरिया र ताइवानसम्म छ।
अमेरिकाको पहलमा संयुक्त राष्ट्र संघले उत्तर कोरियामा नयाँ नाकाबन्दी लगाएपछि दुई देशबीच तनाव चर्किएको हो। दुई देशको तनावमा जापान शिकार भएको छ।
यो क्षेप्यास्त्र परीक्षणको जापान, अमेरिका, बेलायत, अष्ट्रेलिया र दक्षिण कोरियाले निन्दा गरेका छन्।
सन् २००९ मा उत्तर कोरियाले गरेको रकेट परीक्षण जापानी आकाशमा गएको थियो। कोरियाले यसलाई स्याटेलाइट परीक्षण भनेपनि वासिङटन, सोल र टोकियोले गैरकानूनी अन्तरमहादेशीय व्यालेस्टिक परीक्षण भनेको थियो।
आठ वर्षदेखि उत्तर कोरियाले लगातार क्षेस्यास्त्र परीक्षण गर्दै आएको छ। जापानी आकाशसम्म पुगेको भने पहिलो घटना हो।