चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले नेपाल इञ्जिनियरिङ कलेजको विवाद तत्काल आन्तरिक रूपमा समाधान गर्नुपर्ने बताएका छन् ।
भक्तपुरमा बिहिबार आयोजित कार्यक्रममा कलेजको विवादमा नगरपालिकाले सहजकर्ताको भूमिका मात्रै निर्वाह गरेको बताउँदै मिश्रले आगामी दिनमा विवाद समाधान नभए स्थानीय निकायले कलेजका मामिलामा हस्तक्षेप गर्ने बताए ।
नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष हरी पाण्डेले सञ्चालक समितिका पदाधिकारीको सहमतिबिनै वर्तमान अध्यक्ष लम्बोदर न्यौपानेले कलेजलाई निजीकरण गरेको आरोप लगाए ।
उनले तत्काल कम्पनी रजिष्टारको कार्यालयमा व्यक्तिगत दर्ता गरिएको कलेज खारेजी गरिनुपर्ने बताए ।
कलेजका वर्तमान अध्यक्ष लम्बोदर न्यौपानेले यस अघि नै सञ्चालक समितिको बैठकले नै कम्पनी रजिष्टारको कार्यालयमा दर्ताका लागि निर्णय गरिसकेको दाबी गरे। उनले हाल कलेजका सम्पूर्ण फाइल अनुसन्धानका लागि अख्तियारले लगेकाले गलत भए आफू सजायको भागी हुने बताए ।
माइतीघर मण्डलामा धर्नामा बसेको विद्यार्थीहरूले रफत सञ्चार क्लबमा वर्तमान अध्यक्ष न्यौपाने अन्तरक्रिया कार्यक्रममा सहभागी भएको जानकारी पाएसँगै आएका विद्यार्थीहरूले न्यौपानेको राजीनामाको माग गरेका थिए । अध्यक्ष न्यौपानेलाई घेराउ गरी उनीहरूले विद्यार्थीको भविष्यमाथि खेलवाड नर्गन भन्दै आक्रोश पोखेका थिए ।
कार्यक्रममा कानून व्यवसायी अनिल श्रेष्ठले कलेजका सवालमा जसरी बाबु आमाले बच्चा जन्माएपछि आफ्नो सन्तान भनि हत्या गर्न पाउँदैनन् त्यसैगरी कलेज सामाजिक संस्था भएकाले कलेज निजीकरण गर्न नमिल्ने बताए ।