रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौँ–निजगढ द्रुत मार्गले मुलुकमा समृृद्धिको ढोका खोल्ने बताएका छन्।
ज्येष्ठ नागरिक समाज नेपालले आज यहाँ आयोजना गरेको काठमाडौँ जिल्ला शाखाको साधारणसभा उद्घाटन गर्दै उनले काठमाडौँ–निजगढ द्रुत मार्गले मुलुकमा समृद्धिको ढोका खोल्ने बताए।
“मुलुकको समृद्धि सरकारको प्राथमिकता हो, द्रुत मार्गलाई सरकारले मुलुकको समृद्धिसँग जोडेको छ, द्रुत मार्गले समृद्धिको ढोका खोल्छ,”– मन्त्री प्रधानले भने।
उनले ज्येष्ठ नागरिकको सम्मानमा सरकारले सधैँ अग्रसरता देखाइरहेको भन्दै सबैले आफ्नो घरबाटै ज्येष्ठ नागरिकको सम्मानलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औल्याए।
कार्यक्रममा मन्त्री प्रधानले दुई असल बुहारी र एक असल छोरीलाई प्रमाणपत्रसहित खादा ओडाएर सम्मान गरेका छन्। सम्मानित हुनेमा बुहारीबाट पुष्पा नकर्मी र नानी छोरी महर्जन तथा असल छोरीमा आफ्नै बुबालाई कलेजो दिएर पुर्नजन्म दिने छोरी सरिता रहेकी छिन् ।
समाजका अध्यक्ष डिल्लीराम नकर्मीले ज्येष्ठ नागरिकका लागि सबैले उच्च प्राथमिकताका साथ सम्मान गर्नुपर्ने बताए। रासस