भक्तपुरमा धमाधम कर्मचारी समायोजन शुरु भएको छ ।
जिल्लामा रहेका विभिन्न कार्यालयका कर्मचारी समायोजनका क्रममा जिल्लाका तीन नगरपालिकामा हाजिर भइरहेकाछन् । मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा कर्मचारी समायोजन भइरहेको प्रजिअ द्रोण पोखरेलले जानकारी दिए।
जिल्ला शिक्षा, महिला विकास, कृषि विकास, पशुसेवा, जनस्वास्थ्य कार्यालयलगायत जिल्लाका सरकारी कार्यालयका कर्मचारी समायोजन गरी नगरपालिकाहरुमा पठाइएको छ । कर्मचारी नगरपालिकाहरुमा हाजिर भइसकेका छन् । केही कर्मचारी नगरपालिकामा हाजिर गरेर सम्बन्धित कार्यालयमा पुराना काम सम्पन्न गर्न कार्यालयमै आउने गरेका छन् ।
यता भक्तपुर नगरपालिकाले भने समायोजन भएर गएका कर्मचारीलाई हाजिर गराएको छैन । महिला विकास, कृषि विकास कार्यालयलगायत कार्यालयबाट समायोजनमा परेर नगरपालिका हाजिर हुन पटक पटक गए पनि हाजिर नगराइएको गुनासो कर्मचारीले गरेका छन् ।
महिला विकास अधिकृत नीला घिमिरेले नगरपालिकाले तत्काल कर्मचारीको आवश्यकता नपरेको जानकारी गराउँदै हाजिर नगराएपछि पुरानो कार्यालयमै हाजिर भएको बताइन्। भक्तपुर नगरपालिका प्रशासन शाखाले भने नगरपालिकालाई थप कर्मचारीको आवश्यकता नपरेकाले हाजिर नगराएको जनाएको छ ।
प्रजिअ पोखरेलले कर्मचारी आवश्यक नभएका खण्डमा समायोजन भएर गएका कर्मचारीलाई नगरपालिकाले हाजिर गराउन बाध्य नहुने बताए। नगरपालिकाले हाजिर नगराएका कर्मचारीले आफ्नो पुरानै कार्यालयमा गएर हाजिर गर्न सक्ने जनाइएको छ । रासस