नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन्।
आज बिहान सम्पन्न मतगणनामा तामाङ प्रतिस्पर्धी अनिल शर्मालाई पछि पार्दै निर्वाचित भएका निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए।
यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी भएका छन् । यस्तै महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वाचित भएका निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।
उनका अनुसार महिला उपमहासचिवसहित ९८ जना निर्विरोध निर्वाचित भएका थिए। बाँकीको निर्वाचन गरिएको हो।
मतगणना सकिए पनि औपचारिक घोषणा अझै गरिएको छैन । क्रान्तिकारीको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन भएको थियो । बिहीबारदेखि शुरु भएको मतगणना आज बिहान मात्र सकिएको छ ।
एक्काइसौँ राष्ट्रिय सम्मेलनबाट ३३ पदाधिकारीसहित २४३ नयाँ कार्यसमिति चयन गरिएको छ । क्रान्तिकारीमा पहिलो पटक मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो । यही भदौ ७ गतेदेखि भएको क्रान्तिकारीको सम्मेलन आज नयाँ नेतृत्व चयन गर्दै सकिएको हो । निर्वाचन प्रक्रियामा दुई हजार १५ मतदातामध्ये करिब एक हजार ७०० ले भाग लिएका थिए । रासस