नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताएका छन्।
नेता ज्ञवालीले आज बिहान प्रेस चौतारी रुकुमद्वारा आयोजित पत्रकार सम्मेलनमा आयोगले क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मात्र आधार मानेर हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताए।
'आयोगले क्षेत्र निर्धाण गर्दा ३० प्रतिशत भूगोललाई र ७० प्रतिशत जनसंख्यालाई आधार मान्नुपर्ने थियो । तर ९० प्रतिशत जनसंख्यालाई र १० प्रतिशत मात्र भूगोललाई आधार बनाएको छ,' उपाध्यक्ष ज्ञवालीले भने, 'यसले गर्दा आयोगले विभेद गरेर गम्भीर गल्ती गरेको छ ।'
६ नम्बर प्रदेश संयोजकसमेत रहेका उपाध्यक्ष ज्ञवालीले ६ नम्बर प्रदेशको राजधानी सुर्खेतमा बनाउने र यसको नाम कर्णाली प्रदेश राख्न एमाले प्रदेश समितिले निर्णय गरिसकेको जानकारी गराए। रासस