तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गराउनुपर्ने आवश्यकतामाथि राजनीतिक दलका प्रतिनिधिहरुले जोड दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज जनकपुरमा आयोजना गरेको राजनीतिक दलका प्रतिनिधिसँगको अन्तरक्रियामा उनीहरुले भने– “स्वतन्त्र, भयरहीत र मर्यादित वातावरणमा चुनाव सम्पन्न गराउन सबै दलले आचारसंहिताको पूर्ण पालन गर्न सक्नुपर्दछ । ”
सो अवसरमा धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जिल्लाको ९२९ पदमा हुन लागेको स्थानीय तह निर्वाचनमा सबै राजनीतिक दलले आचारसंहिता पालन गर्नुपर्नेमा जोड दिदैं स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि आचारसंहितालाई सम्बन्धीत सबै पक्षले पूर्ण रुपमा पालन गर्नुपर्ने बताए।
विगतमा भएको स्थानीय तह निर्वाचनका क्रममा बदर मतपत्र बढी देखिएको उल्लेख गर्दै उनले मतदाताले छिटो, छरितो र सहजरुपमा मतपत्र बुझ्न र बुझाउन पनि राजनीतिक दलहरु सक्रियरुपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
निर्वाचन अधिकृत रामहरि काफ्लेले यसपालि निर्वाचनमा मतपत्र लामो भएकाले मतदाताका लागि जटिल देखिएको भन्दै मतदाता शिक्षामा बिशेष जोड दिन राजनीतिक दललाई आग्रह गरे।
धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईले निर्वाचन अबधिभर उच्च सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिदै. निर्धक्क भएर चुनाव प्रचारप्रसार तथा मतदान गर्न सम्बन्धीत सबैलाई आग्रह गरे।
कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, एकीकृत राप्रपा, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल, नेकपा माले, नेकपा संयुक्त, नेपाली जनता दललगायतका प्रतिनिधिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गराउन आफू र आफ्ना दल सक्रिय भएर लाग्ने विश्वास दिलाए । रासस