स्थानीय तहको तेस्रो चरणमा वीरगन्ज महानगरपालिका र दुई उपमहानगरपालिकामा एमालेले उम्मेदवार टुंगो लगाएको छ। अर्को एक उपमहानगरमा भने टुंगो लगाउन सकेको छैन।
एमाले स्थायी समिति बैठकले वीरगन्ज महानगरपालिकामा बसुरिद्धिन अन्सारीलाई मेयरको उम्मेदवार बनाएको छ। त्रिभुवन विश्वविद्यालयले सम्बन्धन स्थगित गरेको विवादित काठमाडौं नेसनल मेडिकल कलेजका सञ्चालक उनी केही समयअघि मात्र माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए।
एमालेले वीरगन्जमा सोफिया आचार्यलाई उपमेयर टिकट दिएको छ।
बाराको कलैया उपमहानगरपालिका प्रमुखमा विनोद साह र उपमेयरमा प्रतिमा यादवलाई उम्मेदवार बनाएको छ। बाराकै जितपुर सिमरा उपमहानगरपालि प्रमुखमा कृष्ण पौडेल र उपप्रमुखमा सरस्वती चौधरीलाई उम्मेदवार बनाएको छ।
जनकपुर उपमहानगरपालिकामा भने एमालेले मेयर र उपमेयर उम्मेदवार टुंगो लगाउन सकेको छैन।
असोज २ गते प्रदेश २ अन्तर्गत ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा निर्वाचन हुँदैछ। तीमध्ये १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्वाचन हुनेछन्।
एमाले स्थायी समिति बैठक आइतबार ४ बजे फेरि बस्नेछ।