प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले काठमाडौं मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगीत गरेर प्रधानमन्त्रीले कुलपति पदको दुरुपयोग गरेको टिप्पणी गरेका छन्।
चितवनमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले बसरुद्धिन अन्सारीलाई वीरगञ्जको मेयर पदमा उठाएपछि काठमाडौं मेडिकल कलेजलाई दिएको सम्बन्धन प्रधानमन्त्रीको दबाबमा खोसिएको बताए। त्रिविले शनिबार उक्त कलेजको सम्बन्धन स्थगीत गरेको थियो।
‘एमालेले बसुरिद्धिन अन्सारीलाई मेयरमा टिकट दिएको सुन्ने वित्तिकै प्रधानमन्त्रीले कुलपतिको हैसियत दुरुपयोग गरेर स्वेच्छाचारी ढंगले, दबाबमुलक ढंगले निर्णय गरे,’ उनले भने ।
ओलीले मनमोहन कलेजलाई किन सम्बन्धन नदिएको भन्दै प्रश्न समेत गरे।
‘मनमोहनमा पूर्वाधार पुगेको छ कि छैन? अस्पताल चलेको छ कि छैन, पढाउने शिक्षकहरु छन् कि छैनन् ?,’ उनको प्रश्न थियो, ‘कसको नाममा चलाउने पाउने, कसको नाममा नचलाउन नपाउने ? अरुले धेरै झुम्रा जोडेर बनेको पुतलीले धेरै फुर्ती नगरे हुन्छ।’
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद बैठकले शनिबार काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन तत्काललाई स्थगित गरेको थियो।
काठमाडौं उपत्यकाभित्र आगामी १० वर्षसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्थासहितको चिकित्सा शिक्षा विधेयक संसदमा विचाराधीन रहेकै बेला त्रिविले करिब दुई साताअघि नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको थियो।
उक्त निर्णयको विरोध र सरकारबाट समेत फिर्ता लिनुपर्ने कुरा उठेपछि शनिबार बसेको त्रिवि कार्यकारी परिषद बैठकले तत्काललाई सम्बन्धन स्थगित गर्ने निर्णय गरेको हो। यसबारे थप अध्ययन गर्न परिषदले छानबिन समिति गठन गरेको छ।
डा. गोविन्द केसीको ११ औं अनसनबीच सरकारसँग वार्ता हुँदाहुँदै त्रिविले उक्त सम्बन्धन दिएको थियो।
अस्पताल तथा प्राज्ञिक पूर्वाधार पूरा नगरेको काठमाडौं नेसनललाई सम्बन्धन दिइएकोमा विरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बोलाएर सोधपुछ गरेका थिए।
त्रिवि कुलपतिसमेत रहेका देउवाले भारत भ्रमणमा जानुअघि खनियाँलाई डाकेर ‘आफूलाई जानकारी नदिई किन सम्बन्धन दिएको’ भनी प्रश्न गरेको निकट स्रोतले बतायो। मेडिकल कलेजको सम्बन्धनका विषयमा डा. केसीसँग वार्ता भइरहँदा त्रिविको यो निर्णयले सरकारको छवि बिग्रेको भन्दै देउवाले आपत्ति जनाएको पनि स्रोतले जानकारी दियो।
स्रोतका अनुसार खनियाँले ‘सर्वोच्च अदालतले पटक–पटक निर्णय गरेपछि सम्बन्धन दिनुपरेको’ बताएका थिए। ‘अदालतको आदेश अटेर गरेको भन्दै मानहानिमा तपाईंलाई पनि कारबाही हुन्छ, मलाई पनि हुन्छ,’ खनियाँको भनाइ उद्धृत गर्दै स्रोतले सेतोपाटीसँग भन्यो।
चार वर्षअघि स्थापना भएको उक्त अस्पतालले मेडिकल कलेजका लागि चाहिने कुनै पनि आधारभूत मापदण्ड पूरा गरेको छैन। एमबिबिएस पढाउन सम्बन्धन पाएपछि पनि घनाबस्ती बीचको यो अस्पताल सुनसान रहन्छ।
एमबिबिएस पढाउने मान्यता पाउन मेडिकल काउन्सिलले तोकेको मुख्य मापदण्ड नै अस्पतालको नियमित सञ्चालन हो। काउन्सिलको मापदण्डमा प्रस्ट भनिएको छ, ‘नयाँ मेडिकल कलेज खोल्न ३०० बेडको अस्पताल कम्तिमा तीन वर्ष नियमित सञ्चालन भइरहेको हुनैपर्छ।’
नियमित चलिरहेको अस्पतालले १०० जना एमबिबिएस विद्यार्थी भर्ना लिन कम्तिमा ३०० बेडमध्ये १८० बेडमा नियमित बिरामी भर्ना भएको हुनुपर्छ। दैनिक अस्पताल आएर जाँच गराउने बिरामीको संख्या ५ सय हुनुपर्छ।
अस्पतालका नाममा होर्डिङ बोर्ड मात्र झुण्डाएर चार वर्ष बिताएको घट्टेकुलोस्थित नेसनल मेडिकल कलेजको ‘बिल्डिङ’ लाई त्रिविले कुनै निरीक्षणबिना एमबिबिएस पढाउने सम्बन्धन दिएको हो। यो ‘बिल्डिङ’ कुनै घरजग्गा व्यवसायीले अपार्टमेन्ट बेच्न बनाएका थिए। घरजग्गा व्यवसायमा मन्दी आएपछि वीरगन्जस्थित मेडिकल कलेजका सञ्चालक जैनुद्दिन अन्सारी र बसरुद्दीन अन्सारीले यो किनेका थिए।
माओवादी केन्द्रबाट संविधानसभा चुनाव लडेका बसरुद्दीन वीरगन्ज महानगरपालिकामा एमालेका मेयर उम्मेदवार हुन्।