बकर इदको सार्वजनिक बिदाको दिन। अन्य दिनको तुलनामा राजधानी काठमाडौंको सडकमा बिहान कमै मात्र सवारी साधन चलेका थिए।
फराकिलो सडक रहेको बानेश्वर-माइतीघर सडक खण्डमा कुनै सवारी चाप थिएन।
बिहानै ८ बजे सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेत बस्नेत त्यही सडकको एउटा पोलमा कर्मचारीले समाएर ठड्याएको भर्याङ चढे। नेपाल दुरसञ्चार प्राधिकरणकै एक कर्मचारीले लमतन्न परेको एउटा कालो तार तानिदिए। कुनै उद्घाटनमा रातो रिबन काटिए जस्तै रिबनले बाँधिएको कालो तार मन्त्री बस्नेतले काटे, अनि मुस्कुराए।
राष्ट्रिय समाचार समितिका अनुसार तार काटेपछि मन्त्री बस्नेतले भने - 'एशियन डेभलपमेन्ट बैंकको सहयोगमा ऊर्जा मन्त्रालयले जमिनमुनि तार विछ्याउने प्रयास अगाडि बढाइरहेको छ र सडक फराकिलो बनाउनेबारे पनि छलफल भइरहेको छ ।'
तार व्यवस्थापनको प्रयासमा नीतिगत सुधार गर्नुको साटो बस्नेत आफैँ तार काट्न आइतबार माइतीघर पुगेका हुन्।
बस्नेतको तार काट्ने अभियान 'नाटकीय' थियो।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङका अनुसार राजधानीका सडकमा झण्डै पचासदेखि साठीवटा सम्म विभिन्न आइएसपी र केवल वितरकका तार अव्यवस्थित छन्।
सञ्चार मन्त्रालयले तिनै तार हटाउने नेतृत्व लिएको हो। अनि मन्त्रालयको नेतृत्वको हिसाबले मन्त्री तार काट्न माइतीघर पुगेका हुन्।
गुरुङले सेतोपाटीसँग भने - महाराजगञ्जमा तार पानीमा झर्दा मानिसलाई करेन्ट नै लाग्यो। तर कतैबाट व्यवस्थापन नभएको र धेरै निकायसँग सम्बन्धित रहेकोले हामीले नेतृत्व लिएका हौँ।'
तार हटाउने विषयमा साउन २९ गते बैठक नै बसेर छलफल भएको उनले बताए। राजधानीका पोलमा राखिएका तारमा पहिचान राख्ने र पहिचान नभएका तार काट्ने अभियान सुरुवात गरिएको उनले बताए।
राजधानीका विद्युतका पोलहरुमा रहेको तारले सहर कुरुप छन्। तर काटिएका कुरुप तार भत्किएका सडकमा असरल्ल छन्।
त्रिपुरेश्वर कंलकी सडकमा तार अण्डरग्राउण्ड गर्ने योजना अलपत्र छन्। त्रिपुरेश्वरमा मन्त्रालयले केही समय अगाडि हटाएको तार भुँइमा लत्रिएका छन्। नकाट्दा माथि भएका तार तल झरेपछि झन् अव्यवस्थित छन्।
'कालिमाटीमा सडक विस्तारले मुद्दाले त्रिपुरेश्वर कलंकी सडकमा अण्डर ग्राउण्ड गर्न सकेको छैनौँ', गुरुङले भने, 'तार काटेपछि महानगरपालिकाले उठाएर लैजाओस् भन्ने चाहाना छ। तर, महानगरले आनाकानी गरिरहेको छ।'
उनले एडिबीको लगानीमा नेपाल विद्युत प्राधिकरण र दुरसञ्चार प्राधिकरणबीच तार हटाउने विषयमा समझदारी भैसकेको बताए। साथै छिट्टै राजधानीका मुख्य सडकको तार अण्डरग्राउण्ड गरिने समेत उल्लेख गरे।
'सबै तार हटाउछौँ भनेर दावी गर्दिन । तर, झुण्डिएकै भएपनि व्यवस्थित गरौँ । दोश्रो स्टेप अण्डरग्राउण्ड गरौँ, भनेर सुरु गरेका हौं', उनले भने।
गुरुङले दीर्घकालमा तार व्यवस्थापन स्थानीय तहलाई दिनुपर्ने धारणा गुरुङको छ।
मुलुक चरम लोडसेडिङ भैरहेका बेला झलनाथ खनाल नेतृत्वको सरकारमा उर्जा मन्त्री भएका एमाले नेता गोकर्ण बिष्टले महसुल नतिर्ने सरकारी विभागको तार काट्ने अभियान चलाएका थिए। अभियानले चर्चा बटुलेको थियो।
तर मन्त्री बस्नेतले भने तार अण्डरग्राउण्ड गर्ने छाँट विना नै, काटिएको तार व्यवस्थापनको कुनै संयन्त्र बिना नै राजधानीमा तार काट्न सुरु गरेका छन्।
तार काट्ने अभियानबारे सोध्न मन्त्री बस्नेतलाई टेलिफोन सम्पर्क गर्दा उनी उपलब्ध भएनन्।
'मन्त्रालयको नेतृत्वमा भएकाले मन्त्रीजी जानु स्वभाविक भयो नि। सबैभन्दा ठूलो कुरा तार व्यवस्थापन हुनुपर्छ। यो कामको नराम्रो के छ र', सञ्चार मन्त्रालयका सचिव गुरुङले मन्त्री बस्नेतको बचाउ गर्दै भने, 'अण्डरग्राउण्ड गर्न समय लाग्छ नि। कम्तिमा तार व्यवस्थापन गरौँ भनेर हो।'